Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कैलाली–३ : बदलिँदो समीकरण, थारु मत र नयाँ–पुराना शक्तिबीच कडा प्रतिस्पर्धा

कैलाली । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा यसपटक १ लाख ९ हजार १२२ मतदाता रहेका छन् । २०७९ सालमा यहाँ १ लाख ७ हजार ६५९ मतदाता रहेकामा यसपटक १ हजार ४६३ मतदाता थपिएका छन्। यो क्षेत्रमा दुई नगरपालिका र एक गाउँपालिका रहेका छन्। कैलारी गाउँपालिकाका १, २, ३, ४, ५, ७ र ८ वडा यस क्षेत्रमा पर्छन् भने घोडाघोडी नगरपालिकाका १ देखि १२ वडा यही क्षेत्रमा समेटिएका छन्। त्यस्तै भजनी नगरपालिकाका १, २, ३, ४, ५, ७ र ९ नम्बर वडा पनि कैलाली–३ मै पर्दछन् ।

उम्मेदवारको मैदान : को–को प्रतिस्पर्धामा?
यो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख उम्मेदवार –
नेकपा (एमाले) – गौरीशंकर चौधरी
नेपाली कांग्रेस – भीम बडुवाल
नेकपा – वीरमान चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – जगतप्रसाद जोशी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – वीरेन्द्रबहादुर बम
नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल) – विक्रम चौधरी
यसबाहेक नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, मितेरी पार्टी नेपाल,  नेकपा (माओवादी) गरी ११ उम्मेदवार मैदानमा छन् ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा कांग्रेस, एमाले र नेकपा नै प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् । युवाहरूले खोजेको परिवर्तन र पुराना दलप्रतिको वितृष्णाको बलमा रास्वपाले पनि आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ ।
थारु मतदाताको बाहुल्यता रहेको यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालको प्रभाव कस्तो रहला भन्नेमा पनि आम चासो छ ।
पुराना अनुहार, नयाँ सन्दर्भ
एमालेले यसपटक पनि पूर्वमाओवादी नेता गौरीशंकर चौधरीलाई नै उम्मेदवार बनाएको छ । चौधरी यो क्षेत्रका पुराना र चिनिएका नेता हुन् । २०७० र २०७४ को चुनावमा माओवादीबाट निर्वाचित उनले गत चुनावमा एमालेमा प्रवेश गरेर उम्मेदवार बन्ने मौका पाए, यद्यपि उनी पराजित भएका थिए ।
नेपाली कांग्रेसले जिल्ला उपसभापति भीमबहादुर बडुवाललाई उम्मेदवार बनाएको छ, जो संगठनको बलमा जित निकाल्ने दाउमा छन् ।
यस्तै, नेकपाका तर्फबाट पूर्वप्रदेश सभा सदस्य वीरमान चौधरी पनि बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । परिवर्तनको नारा बोकेको रास्वपाबाट जगतप्रसाद जोशी र स्थानीय सेन्टिमेन्ट समात्न खोजिरहेको नागरिक उन्मुक्ति नेपालबाट विक्रम चौधरीको उपस्थितिले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाइदिएको छ । नागरिक उन्मुक्ति पार्टी नेपाल यस क्षेत्रका प्रभावशाली थरुहट नेता रेशम चौधरीको संरक्षकत्वमा गठन भएको हो ।

खेतमै व्यस्त मतदाता, त्यही पुग्छन् उम्मेदवार  
चोक–बजारमा चुनावको चहलपहल देखिए पनि भजनी र कैलारी गाउँपालिकाका किसान यतिबेला खेतमै भेटिन्छन् । उनीहरुलाई चुनावी सभा र भाषणले खासै छोएको छैन ।
धेरै किसानलाई नेताका कुराभन्दा आकाशको मौसमले बढी पिरोल्छ । बर्खामा डुबान हुने भएकाले अहिले उनीहरू चैते धान लगाउन व्यस्त छन्, ताकि बाढी आउनुअघि नै केही अनाज जोहो गर्न सकियोस् ।
थारु बहुल बस्तीहरूमा चुनावी प्रचारको शैली पनि बेग्लै छ । यहाँका गाउँहरूमा भलमन्सा र बडघर (गाउँको मुख्य मान्छे) को निर्णयले अझै पनि ठूलो अर्थ राख्छ । त्यसैले राजनीतिक दलका नेताहरू सिधै मतदाताको घरमा भन्दा भलमन्साको फोनमा बढी झुन्डिरहेका छन् ।

मतदाताको मनोविज्ञान : पार्टीभन्दा व्यक्ति ?
किसानका समस्याप्रति राज्यको उदासीनता रहेको भजनीका मतदाताको गुनासो छ । स्थानीय व्यापारी र युवासँग कुरा गर्दा एउटा स्पष्ट चित्र देखिन्छ– मानिसहरू अब पार्टीको झण्डा मात्रै हेर्न तयार छैनन् । केही प्रतिनिधि मतदातासँग कुराकानी गर्दा २० प्रतिशत मतदाता चिनजानकै स्थानीय उम्मेदवारलाई भोट दिने मनशाय राख्छन् भने ५० प्रतिशत मतदाता भने नयाँलाई पालो दिनुपर्ने र उनीहरूको काम हेर्ने बताउँछन् । बाँकी ३० प्रतिशत पर्ख र हेरको अवस्थामा छन् ।





अघिल्ला परिणाम र बदलिँदो धरातल
विगतका निर्वाचनको मत परिणामलाई हेर्ने हो भने यहाँको राजनीतिक धरातल निकै फेरिएको देखिन्छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत हेर्दा नागरिक उन्मुक्ति पार्टी २१ हजार ५४९ मतका साथ सबैभन्दा अगाडि थियो ।
यसपटक नागरिक उन्मुक्ति विभाजित छ । रेशम चौधरी नाउपा नेपाल नामको दल बनाएर मैदानमा छन् भने उनकी पत्नी रञ्जिता श्रेष्ठ नेकपामा समाहित भएकी छन् ।
अघिल्लो निर्वाचनमा दोस्रो बनेको कांग्रेसले १० हजार ७ मत र तेस्रोमा तत्कालीन माओवादी केन्द्रले ८ हजार ४१६ मत पाएको थियो । एमाले ७ हजार ५३१ मतमा सीमित भएको थियो भने नयाँ शक्तिका रूपमा रहेको रास्वपाले ३ हजार ८२१ मत ल्याएर आफ्नो उपस्थिति देखाएको थियो ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी तत्कालीन नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका थिए ।
त्यस्तै, नेकपा (एमाले )का उम्मेदवार गौरीशंकर चौधरीले ९ हजार ८७४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमले ७ हजार ४५ मत प्राप्त गरेका थिए ।

थारु–गैरथारु सन्तुलन र भलमन्साको भूमिका निर्णायक
अहिलेको परिस्थिति फेरिएको छ । स्थानीय अगुवाहरू उम्मेदवारको व्यक्तित्व, थारु र गैरथारु मतको सन्तुलन तथा भलमन्साहरूको भूमिकाले अन्तिम परिणाम तय गर्ने बताउँछन् ।
पुराना दलहरूले अघिल्ला चुनावहरूमा जस्तो सहजै जित्ने अवस्था अब नरहने जानकारहरूको मत छ । घोडाघोडी नगरपालिका,  भजनी र कैलारी गाउँपालिकाका केही वडा समेटिएको यस क्षेत्रमा अहिले आफ्नो मान्छेभन्दा पनि काम गर्ने मान्छेको खोजी भइरहेको मतदाताहरूको भनाइ छ ।
एकातिर पुराना नेताहरू आफ्नो अनुभव र पहिले गरेका कामको फेहरिस्त सुनाइरहेका छन् भने अर्कातिर नयाँ उम्मेदवारहरू परिवर्तन र नयाँ जोशको नारा दिएर मतदातालाई लोभ्याइरहेका छन् । यसर्थ, कैलाली–३ मा यसपटकको प्रतिस्पर्धा केवल दलहरूबीचको होइन, पुराना राजनीतिक शैली र नयाँ अपेक्षाबीचको टक्करका रूपमा विकसित भइरहेको देखिन्छ ।०००


 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार