Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले छिरेका प्रदीप यादव र अनिल रुङ्गटाबीच पर्सा १ मा प्रतिस्पर्धा, खेलाडीदेखि कलाकारसम्म मैदानमा

पर्सा । पर्सा जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । तिमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा देशकै मुख्य व्यापारिक शहर वीरगञ्ज पर्छ । वीरगञ्ज महानगरपालिकाका अधिकांश वडा यही क्षेत्रमा पर्छन् । यो क्षेत्रमा अन्य पालिका छैनन् । वीरगञ्ज महानगरपालिकाका २, ४, ५, ७, ८, ११, १२, १३, १४, १५, १६, १८, २०, २१, २२, २३, ३०, ३१ र ३२ वडा रहेका छन् । ३४ मतदानस्थल रहेको यो क्षेत्रमा १०३ मतदान केन्द्र तोकिएको छ । यहाँ कुल मतदाता संख्या ८९ हजार ६३८ छ । यसपटकको निर्वाचनमा यो क्षेत्रबाट ३० उम्मेदवार मैदानमा उत्रिएका छन् । १८ राजनीतिक दल र १२ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा देखिएका छन् । यसपटक यो क्षेत्रमा दलबदल पनि भएको छ ।

को–को छन् मुख्य प्रतिस्पर्धी ?
एमाले – प्रदीप यादव
कांग्रेस – अनिलकुमार रुङ्गटा
नेकपा – अजय चौरसिया
रास्वपा – बुद्धिप्रसाद पन्त
राप्रपा – नन्द किशोर प्रसाद श्रीवास्तव
जसपा नेपाल – रामनरेश प्रसाद यादव
जनमत – ओमप्रकाश शर्राफ
श्रम संस्कृति – वसिम शेष
उज्यालो नेपाल – रामकिशोर सिंह
आम जनता पार्टी – विश्वराज पटेल
यी बाहेक यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, नेकपा (संयुक्त), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्र निर्माण दल, पिपुल फर्ष्ट पार्टी, जनअधिकार पार्टीका उम्मेदवार रहेका छन् । पर्सा क्षेत्र नं. १ मा केही पुराना र केही नयाँ अनुहार प्रतिस्पर्धामा देखिएका छन् । तर, ३० जना उम्मेदवार हुँदा महिलालाई कुनै दलले पत्याएनन् । बरु, स्वतन्त्रबाट आर्यशशिकला राउतले उम्मेदवारी दिएकी छन् । निर्वाचनको मुखैमा दलबदलको समस्या यहाँ पनि देखिएको छ ।

कस्ता छन् उम्मेदवार ?

प्रदीप यादव (एमाले)
एमालेले चुनावको मुखैमा प्रवेश गरेका प्रदीप यादवलाई उम्मेदवार बनाएको छ । अघिल्लो २०७९ सालको निर्वाचनमा उनी जसपा नेपालबाट यही क्षेत्रबाट निर्वाचित बनेका थिए । त्यसपछि २०८१ मा पार्टी फुट्दा अशोक राई नेतृत्वलाई साथ दिँदै जसपामा लागे । फेरि जसपा छाडेर जसपा नेपाल प्रवेश गरेको केही दिनमै उनी एमाले पुगे र पर्सा–१ को टिकट हात पारे । उनी केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा खानेपानीमन्त्री थिए । त्यसअघि स्वास्थ्यमन्त्री तथा वन तथा वातावरण मन्त्री समेत बनेका उनी मधेश आन्दोलनबाट राजनीतिमा उदाएका नेता हुन् ।

अनिलकुमार रुङ्गटा (कांग्रेस)
कांग्रेसले यसपटक व्यापारी अनिलकुमार रुगंटालाई उम्मेदवार बनाएको छ । वीरगञ्जका स्थानीय रुगंटा २०७४ को निर्वाचनमा प्रदीप यादवसँग पराजित भएका थिए । उनी स्टील, फलाम तथा सिमेन्ट उद्योगमा लामो समयदेखि संलग्न एक अनुभवी उद्योगपति हुन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले उम्मेदवारी नदिएपछि कांग्रेसका अजयकुमार द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएर निकटतम् प्रतिद्वन्द्वी बनेका थिए । यसपटक टिकटको अपेक्षा भए पनि नपाएपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै रुगंटालाई साथ दिने बताएका थिए ।

अजय चौरसिया (नेकपा)
वाम पृष्ठभूमिका अजय चौरसियालाई नेकपाले पर्साबाट उम्मेदवार बनाएको छ । उनी चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिका हुन् । यो पटक उनी प्रतिस्पर्धीका रूपमा उभिएका छन् ।

बुद्धिप्रसाद पन्त (रास्वपा)
रास्वपाले स्थानीय बुद्धिप्रसाद पन्तलाई उम्मेदवार बनाएको छ । वीरगञ्ज महानगरपालिकाका स्थायी बासिन्दा रहेका पन्त क्लासिक होटल र कन्ट्री इन होटल सञ्चालन गर्दै आएका छन् । होटल व्यवसायमा आबद्ध रहँदै उनले रास्वपाबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी २०८१ साल पुसमा रास्वपाको पर्सा जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

रामकिशोर सिंह (उज्यालो नेपाल)
नेकपा एमालेबाट विद्रोह गरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका रामकिशोर सिंह (पराग) पनि चुनावी मैदानमा ओर्लिएका छन् । निरन्तर संसदीय राजनीतिमा सक्रिय उनको यो चुनावी यात्रालाई समर्थकहरूले निरन्तरताको राजनीति भनेका छन् भने विपक्षीहरूले विकल्पको आवश्यकता औँल्याइरहेका छन् । अन्य उम्मेदवार पनि राजनीतिक तथा विभिन्न पृष्ठभूमिबाट आएका छन् ।

२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ
जसपा नेपाल – प्रदीप यादव – २२,५३७ मत (विजयी)
स्वतन्त्र – अजयकुमार द्विवेदी – २०,९१७ मत
राप्रपा – किरनमान डंगोल – २,६५९ मत
लेसपा – लक्ष्मणलाल कर्ण – १,११७ मत
अन्य उम्मेदवारका खास उल्लेख्य मत छैन ।

समानुपातिकतर्फ
जसपा नेपाल – ११,१५४
कांग्रेस – ९,४६३
राप्रपा – ८,३१४
एकीकृत समाजवादी – ६,३१५
माओवादी केन्द्र – ५,६९३
रास्वपा – २,१२७
नेपाल संघीय समाजवादी पार्टी – १,३०७

मतदाता के भन्छन् ?
पर्सा क्षेत्र नम्बर–१ मा चुनावी अभियान तीव्र बने पनि मतदातामा खास उत्साह देखिएको छैन ।
पुराना दलप्रति असन्तुष्टि – विगतमा निर्वाचित प्रतिनिधिले अपेक्षित काम नगरेको गुनासो छ । विकास, रोजगारी र सुशासनमा सुधार नभएको भन्दै वितृष्णा देखिन्छ ।
आधारभूत सेवा सुधारको माग – सडक, नाला, खानेपानी, आवास, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस काम हुनुपर्ने अपेक्षा छ ।
कृषि क्षेत्रको प्राथमिकता – किसानका लागि मलखाद र अन्य सहुलियतको सुनिश्चित व्यवस्था गरिनुपर्ने मतदाताको माग  छ ।
करभार घटाउनुपर्ने आवाज – करमाथि कर बढेको गुनासो, जनतालाई प्रत्यक्ष लाभ नपुगेको आक्रोश पनि उनीहरूमा देखिन्छ ।
नयाँ अनुहारप्रति झुकाव – पुराना दलभन्दा नयाँ र इमानदार नेतृत्वले केही फरक गर्न सक्ने आशा गरेका छन् ।
स्थिरता र स्पष्ट एजेन्डाको खोजी – दलहरूबाट ठोस योजना र दीर्घकालीन भिजन अपेक्षा गरिएको पाइएको छ ।
समग्रमा, मतदाता अहिले नाराज र सतर्क अवस्थामा छन् । उनीहरू उत्साहभन्दा बढी परिणाममुखी काम र विश्वसनीय नेतृत्व खोजिरहेका छन् ।


 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार