Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महाकाली सन्धिबारे भ्रम फैलाइएको भन्दै देवराज घिमिरेको स्पष्टीकरण

काठमाडौं — पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिलाई लिएर आफ्नो नाम जोड्दै सामाजिक सञ्जालमा फैलाइएका सामग्रीप्रति आपत्ति जनाएका छन्। उनले शुक्रबार विज्ञप्ति जारी गर्दै सन्धिबारे आफू स्पष्ट रहेको र फैलाइएको सूचना भ्रामक भएको बताएका हुन्।

“महाकाली सन्धिबारे म स्पष्ट छु। जो प्रश्न सोधिरहनुभएको छ, मैले जवाफ दिइरहेको छु,” विज्ञप्तिमा उल्लेख छ। घिमिरेले सन्धिबारे अध्ययन र विश्लेषण नगरी घृणाको राजनीति नगर्न आग्रह गरेका छन्। उनले केही दिनअघि नियोजित रूपमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखिएको आरोप लगाए। उक्त भिडियो पछि एक राजनीतिक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको उनको दाबी छ।

घिमिरेले महाकाली सन्धिमा आफूले कुनै हस्ताक्षर नगरेको स्पष्ट पारे। “म त्यस समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदामा थिइनँ,” उनले उल्लेख गरेका छन्। पार्टीभित्र सन्धिबारे पक्ष–विपक्षमा बहस भएको र आफूले पनि आफ्नो मत राखेको मात्र उनले बताएका छन्। पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत राख्छ भन्ने आरोप निराधार भएको उनको भनाइ छ।

आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै घिमिरेले राजनीतिलाई सेवा मानेर काम गरेको दाबी गरेका छन्। तीन वर्षअघि प्राप्त राजकीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको र झापा क्षेत्र नम्बर २ का लागि सक्दो योगदान दिएको उनले बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग विगत र पछिल्लो तीन वर्षको कार्यसम्पादनको समीक्षा गर्न तयार रहेको जनाउँदै त्रुटि भए स्वीकार गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार