Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने गृहमन्त्रीको विश्वास

दोलखा — गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षण तथा अनुगमनका क्रममा उनले यस्तो बताएका हुन्। गृहमन्त्री अर्यालले विगतका कमजोरी सच्याएर यसपटकको निर्वाचन धाँधलिरहित बनाइने बताए। उनले निर्धक्क र शान्तिपूर्ण रूपमा मतदान गराउन आवश्यक वातावरण तयार गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए। निरीक्षणपश्चात आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा फैलाइने गलत तथा दुष्प्रचारजन्य सूचनाबाट सचेत रहन र निर्वाचन तयारीमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरे।

उच्चस्तरीय टोलीद्वारा अनुगमन
आज बिहान गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले मतदान केन्द्रको अनुगमन तथा निर्वाचन सुरक्षाबारे छलफल गरेको थियो। टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलगायत सहभागी थिए।

सह–प्रवक्ता आचार्यका अनुसार छलफलमा २०७९ सालको स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनको अनुभव समीक्षा गर्दै आगामी निर्वाचनको सुरक्षा योजनाबारे जानकारी आदानप्रदान गरिएको थियो। विगतमा देखिएको संवेदनशीलतालाई ध्यानमा राखेर सीमावर्ती नाकासहित विभिन्न स्थानमा सुरक्षा कडाइ गरिएको जनाइएको छ।

सबै पक्षको सक्रियता आवश्यक
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन निष्पक्ष र भयरहित बनाउन सबै सरोकारवाला सक्रिय हुनुपर्ने बताए। सम्भावित समस्याको पहिचान गरी निर्वाचनपूर्व तयारी सुनिश्चित गर्न उनले जोड दिए। प्रमुख निर्वाचन अधिकृत न्यौपानेले सुरक्षा निकायबीच समन्वय भइरहेको र विगतमा अवरोध सिर्जना गर्ने व्यक्तिमाथि निगरानी बढाइएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको समग्र निर्वाचन अवस्थाबारे जानकारी गराएका थिए। बैतेश्वर गाउँपालिकामा आठ मतदानस्थल र २१ मतदान केन्द्र रहेका छन्। त्यहाँ कुल १८ हजार ४२२ मतदाता छन् र विगतमा ९० देखि ९५ प्रतिशतसम्म मतदान हुने गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार