Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रुकुम पश्चिममा जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीको समर्थन

रुकुम पश्चिम — प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले समर्थन गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा केसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै शर्मालाई समर्थन गरेको घोषणा गरे। रुकुमको समग्र विकास र वृहत्तर हितका लागि उक्त निर्णय लिएको उनको भनाइ थियो। यसअघि नेकपा एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ।

‘रुकुमलाई मोडल जिल्ला बनाउँछु’ : शर्मा
पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले रुकुम पश्चिमलाई विकास, सुशासन र समृद्धिको राष्ट्रिय नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे। गरिबी र बेरोजगारीविरुद्ध लड्दै सामाजिक न्याय सुनिश्चित गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए। “रुकुमलाई देशकै एउटा मोडल जिल्ला बनाउने दृष्टिकोण राखेको छु। हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो,” उनले भने, “सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै रुकुमको भविष्य उज्यालो बनाउनु नै मेरो लक्ष्य हो।” आफू स्पष्ट खाकासहित निर्वाचनमा होमिएको उल्लेख गर्दै शर्माले मतदातालाई विकास र समृद्धिको पक्षमा उभिन आग्रह गरे। उनले आफू कुनै दल विशेषको मात्र नभई सम्पूर्ण रुकुमेलीहरूको साझा उम्मेदवार भएको दाबी गरे।

‘साझा नेतृत्व’ को प्रस्ताव
उज्यालो नेपाल पार्टीका केसीले मतदाताको सुझाव र राजनीतिक यथार्थलाई मध्यनजर गर्दै समर्थनको निर्णय लिएको बताए। उनका अनुसार समान एजेण्डा भएका शक्तिहरूबीच सहकार्य आवश्यक छ। “अहिलेको मतभारका कारण एक्लै एजेण्डा कार्यान्वयन गर्न कठिन हुन सक्छ भन्ने सुझाव आयो,” केसीले भने, “रुकुम पश्चिमका उम्मेदवारमध्ये जनार्दन शर्मा सबैभन्दा बलियो र अनुभवी नेता हुनुहुन्छ। उहाँलाई साझा समर्थन गर्नु नै अहिलेको आवश्यकता हो।” केसीले अन्य साना दल र स्वतन्त्र उम्मेदवारलाई पनि शर्माको पक्षमा उभिन आह्वान गरे। रुकुम पश्चिममा यस निर्वाचनमा जनार्दन शर्मा, नेपाली कांग्रेसका राजु केसी, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही प्रतिस्पर्धामा छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार