Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

उम्मेदवारका परिवारको बैंक खातामा आयोगको निगरानी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघर परिवारको बैंक खातामा निगरानी सुरु गरेको छ। चुनावी खर्च अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने प्रावधान पालना नभएको पाएपछि यस्तो कदम चालिएको हो।

आयोगले आचारसंहितामै बैंक खातामार्फत मात्रै खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो। तर अधिकांश उम्मेदवारले नगद कारोबारमार्फत खर्च गरेको देखिएपछि प्रचार अवधिमा उम्मेदवार र परिवारका सदस्यको खाताको कारोबार अनुगमन थालिएको हो। खर्च पारदर्शी बनाउन र अवैध आर्थिक गतिविधि रोक्न निगरानी कडाइ गरिएको आयोगले जनाएको छ।

केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानूनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताए । उम्मेदवारको चुनावी खर्चको अुनगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भईरहेको उनले उल्लेख गरे ।

‘हामीले उम्मेदवारले गर्ने खर्चका सम्बन्धमा जिल्लादेखि नै अनुगमन गरिरहेका छौ । त्यसका लागि सहायक प्रमु्ख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्च अनुगमन गर्नुहुन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित जिल्लाका निर्वाचन उम्मेदवारको वित्तीय अवस्थाको अनुगमन गर्नुहुन्छ । हामीले राष्ट्र बैंकलाई पत्राचार पनि गरेका छौं,’ उनले भने ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् ।  आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको हो । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार