Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

होलीमा सार्वजनिक स्थलमा भेला हुन र चुनावी प्रचार सामग्री प्रयोगमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र सुरक्षित ढंगले मनाउन सार्वजनिक अपिल जारी गरेको छ। निर्वाचनको संवेदनशील समय र लागू रहेको आचारसंहितालाई आधार मान्दै यस वर्षको होलीमा विशेष निगरानीसहित कडाइ गरिने प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक स्थलमा होहल्ला गर्ने, झै–झगडा गर्ने तथा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र मर्यादामा खलल पुर्‍याउने गतिविधि नगर्न चेतावनी दिइएको छ। कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने वा जबरजस्ती गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिएको छ।
निर्वाचन आचारसंहिताको पालनालाई विशेष जोड दिँदै प्रशासनले होलीका अवसरमा कुनै पनि दल वा उम्मेदवारसँग सम्बन्धित निर्वाचन चिह्न, तस्बिर वा प्रचार सामग्री अंकित टी–सर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
प्रशासनले होली आफ्नै घरको कम्पाउण्डभित्र परिवार र आफन्तसँग सीमित रूपमा मनाउन आग्रह गरेको छ। खुला सडक तथा सार्वजनिक स्थानमा भेला भएर भिडभाड गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा मादक पदार्थको बिक्री–वितरण र सेवन गर्ने कार्यमा रोक लगाइएको सूचनामा उल्लेख छ।
सार्वजनिक शान्ति, सुरक्षा र निर्वाचनको स्वच्छ वातावरण कायम राख्न प्रशासनले सबैलाई संयमित व्यवहार अपनाउन आग्रह गरेको छ।

1000096925-1772162199.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार