Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावअघि आफ्नो लहर बढ्दै गएको दाबी

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पक्षमा जनसमर्थन बढ्दै गएको दाबी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बिहीबार जारी गरेको वक्तव्यमा अन्य दलहरू शिथिल हुँदै गइरहेको र कांग्रेसको पक्षमा प्रवेशको लहर चलेको बताएका छन्।

वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘अतिलोकप्रिय’ र नेकपा (एमाले)लाई ‘प्रतिगमन’ पक्षको रूपमा उल्लेख गर्दै भनिएको छ, “अतिलोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवार ढंगले आम मनोविज्ञानलाई प्रभावित पार्ने तत्वहरू शिथिल हुँदै गएका छन्। नेपाली कांग्रेसप्रति चौतर्फी आकर्षण बढेको छ।”
यसै क्रममा, रास्वपा नवलपरासी पश्चिमका सभापति महेन्द्रसिंह ठकुरी, नेकपा एमालेका नेता धनलाल गुरुङसहितका नेताहरू कांग्रेसमा प्रवेश गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।

वक्तव्यअनुसार, स्वतन्त्र हैसियतमा रहेका सामाजिक व्यक्तित्व र जेनजी आन्दोलनका अगुवाहरू समेत कांग्रेसमा प्रवेश गरी चुनावी अभियानमा सक्रिय हुनेछन्।
“कांग्रेसको पक्षमा जनलहर व्यापक हुँदै गएको छ र १६५ निर्वाचन क्षेत्रमा पार्टीका कर्मठ र लोकप्रिय उम्मेदवारहरूले संगठित र सुदृढ पार्टी पंक्ति तथा शुभचिन्तकहरूको साथमा मतदातासँग सघन अन्तरक्रिया गरिरहेका छन्,” वक्तव्यमा भनिएको छ।

पार्टीले बदलिँदो राजनीतिक संक्रमणको बीच मुलुकको स्थिरता सुनिश्चित गर्ने क्षमता कांग्रेससँग रहेको र केही दिनमा जनमतबाट यसले प्रमाणित हुने दाबी पनि गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार