Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारले सामुहिक रूपमा ल्याए प्रतिबद्धता पत्र (पूर्णपाठसहित)

काठमाडौं — संघीय राजधानी काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूले संयुक्त रूपमा ‘नेपाली कांग्रेस काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र : भिजन १०’ सार्वजनिक गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तथा तीनवटै जिल्लाका उम्मेदवारहरूको भर्चुअल सहभागितासहित प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो।

प्रतिबद्धता पत्रमा काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटै सहरी इकाइका रूपमा लिएर स्थान विशेषका मौलिक विशेषतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा र कार्यान्वयन गर्ने उल्लेख छ। उपत्यकालाई सफा, व्यवस्थित, आधुनिक र जीवन्त सहरका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरिएको छ।

सहर व्यवस्थापन र यातायात सुधार
उपत्यकाको वहन क्षमताअनुसार सहर व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनर्संरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सुदृढ बनाइने प्रतिबद्धता जनाइएको छ। यातायात व्यवस्थापन सुधारका लागि एकीकृत सहरी यातायात तथा स्मार्ट मोबिलिटी नीति लागू गर्ने, मास ट्रान्सपोर्टसहित सडक पूर्वाधार विस्तार गर्ने र पैदलयात्री तथा साइकलमैत्री ‘वाकेबल सिटी’ अवधारणा अघि बढाउने योजना समेटिएको छ।

प्रदूषण नियन्त्रण र सम्पदा संरक्षण
उपत्यकाभित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड लागू गर्ने, सार्वजनिक तथा पुरातात्विक सम्पदाको संरक्षण र व्यवस्थापनका लागि साझा योजना बनाउने उल्लेख छ। नदी संरक्षण, शुद्धीकरण र सौन्दर्यीकरण कार्यक्रम सञ्चालन गर्दै निकुञ्ज, सार्वजनिक वन र पार्क संरक्षणमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि गरिएको छ।

शिक्षा, स्वास्थ्य र पूर्वाधार
शिक्षा क्षेत्रलाई प्रविधिमैत्री, व्यवहारिक र गुणस्तरीय बनाउने तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रविधि–आधारित बनाउने प्रतिज्ञा प्रतिबद्धता पत्रमा गरिएको छ। एकीकृत भू–उपयोग नीति, भवन संहिता, ढल व्यवस्थापन तथा सहरी पुनरुत्थान गुरुयोजना कार्यान्वयन गर्ने, विपद् व्यवस्थापनका लागि पूर्वचेतावनी प्रणालीसहित कमाण्ड सेन्टर स्थापना गर्ने विषय पनि समावेश छन्।

रोजगारी, आवास र सामाजिक सुरक्षा
बेरोजगारी, गरिबी र असमानता घटाउन रोजगारी सिर्जना, युवालक्षित कार्यक्रम, डिजिटल प्रविधि तथा सूचना प्रविधि क्षेत्रमा उद्यम प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आगामी ५० वर्षको जनसंख्या प्रक्षेपणका आधारमा वृहत्तर योजना बनाउने, भूमिगत जलस्रोत संरक्षण र पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरिएको छ।

सामूहिक प्रयासमा जोड
कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले उपत्यकाको दिगो विकास कांग्रेसको प्राथमिकतामा रहेको बताए। साझा एजेन्डा लिएर अघि बढ्दा कार्यान्वयन प्रभावकारी हुने भएकाले एकीकृत प्रतिबद्धता ल्याइएको उनको भनाइ थियो। प्रतिबद्धता पत्रमा काठमाडौंका १० वटै निर्वाचन क्षेत्र, भक्तपुरका २ तथा ललितपुरका ३ वटै निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारहरूको नाम समावेश गरिएको छ। कांग्रेसले यसलाई उपत्यकाको समग्र विकासका लागि साझा मार्गदर्शक दस्तावेजका रूपमा प्रस्तुत गरेको छ।
 

aa-1772107338.JPG

2-1772107338.JPG

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार