NL न्यूज
काठमाडौँ ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेपछि पार्टीभित्र देखिएका विभिन्न प्रतिक्रिया र तरंगप्रति वरिष्ठ नेता ईश्वर पोखरेलले ध्यानाकर्षण भएको बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछी पनि पोखरेल पक्षले कार्की ब्यांकेटमा राखेको भेलाप्रती असन्तुष्टि जनाएका थिए । उनले निर्वाचित केही पदाधिकारी पनि त्यसमा पुगेको भन्दै त्यसलाई सकरात्मक भेला हुन सक्ने प्रतिक्रिया दिएका थिए । त्यसपछि आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले महाधिवेशनका क्रममा उठेका विषय, नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धा तथा प्रतिस्पर्धी समूहबीच भएको छलफललाई लिएर केही प्रतिक्रिया आएको उल्लेख गरेका छन् ।
पोखरेलले विगतमा पार्टीभित्रको विवादका कारण नकारात्मक परिणाम भोग्नुपरेको पृष्ठभूमि स्मरण गराउँदै अहिले त्यही अवस्थाको पुनरावृत्ति नहुने स्पष्ट पारेका छन् । उनले महाधिवेशनबाट भएका संस्थागत निर्णय र निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै गतिविधि नहुने दाबी गरेका छन् ।
उनका अनुसार, महाधिवेशनमा नेतृत्व चयन सर्वसम्मतिमा हुन नसकेको अवस्था थियो र त्यसका कारण विभिन्न समूह बनेर प्रतिस्पर्धा भएको थियो । ती समूहहरूले पार्टी जीवनको लोकतान्त्रिकरणलगायतका विषयलाई उठाउँदै ‘अवधारणा पत्र’का रूपमा आफ्ना अडान सार्वजनिक गरेका थिए, जसलाई महाधिवेशनको बन्द सत्रमा समेत प्रस्तुत गरिएको थियो ।
पोखरेलले पार्टीभित्र असहमति र फरक मतलाई अस्वाभाविक रूपमा लिन नहुने उल्लेख गर्दै नेतृत्वले आत्मसमर्पण होइन, सबै तहका नेता–कार्यकर्ताको आत्मसम्मान र स्वाभिमानको सम्मान गर्नुपर्ने बताएका छन् । उनले काखा–पाखाको व्यवहार नहुने सुनिश्चितता र संस्थागत निर्णयको पालना अहिलेको आवश्यकता भएको बताएका छन् ।
उनले पार्टी एकतालाई मजबुत बनाउने, विभाजनको विरोध गर्ने र विधि तथा प्रक्रियाबाट भएका निर्णयको पालना गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्