Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

फागुन २० गते राति १२ बजेबाट चुनाव नसकिँदासम्म सवारीसाधन चलाउन रोक

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधिमा कानुनविपरीत गतिविधि हुन नदिन गृह मन्त्रालयलाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। आयोगले उल्लंघन पाइए तत्काल प्रचलित कानुनअनुसार कारबाही गरी आयोगलाई जानकारी गराउन पनि अनुरोध गरेको छ।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचार निषेध अवधिमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिनुपर्नेछ। साथै जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत अनुगमन तीव्र बनाउन पनि भनिएको छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ विपरीत गतिविधि गर्ने व्यक्तिमाथि कारबाही गर्न आयोगले स्पष्ट निर्देशन दिएको छ।

मदिरा बिक्रीमा प्रतिबन्ध
आयोगले मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ। निर्वाचन अवधिमा शान्तिसुरक्षा कायम राख्न यस्तो व्यवस्था गरिएको आयोगको भनाइ छ।

मतदानका दिन सवारी साधन सञ्चालनमा रोक
मतदानका दिन अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल र दूरसञ्चार मर्मतका सवारी, कूटनीतिक नियोगका सवारी तथा आयोगबाट पास प्राप्त सवारी मात्र सञ्चालन गर्न पाइनेछ। फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म उक्त व्यवस्था लागू हुनेछ।

हवाई उडान यथावत्
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्। टिकट भएका यात्रुले विमानस्थल आवतजावत गर्दा निजी सवारी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न पाउने व्यवस्था मिलाइने आयोगले जनाएको छ।

मतदानका लागि आवश्यक कागजात
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्नेछ। मतदाता परिचयपत्र नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात लिएर गए पनि मतदान गर्न पाइनेछ। मतदाता नामावलीमा नाम भएका मतदाताले माथिका कागजातमध्ये एक साथमा लिएर गएमा मतदान गर्न पाउने विषयमा सुरक्षाकर्मी र कर्मचारीलाई स्पष्ट सूचना दिन आयोगले आग्रह गरेको छ।

सवारी पास वितरण इकाइ स्थापना
सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुसार मतदानका दिन आवश्यक सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष इकाइ स्थापना गरिनेछ। उक्त इकाइमा निर्वाचन आयोगका दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौंका दुई जना कर्मचारी खटाइनेछन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन आयोगले सबै सरोकारवालालाई आचारसंहिता कडाइका साथ पालना गर्न अपिल गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार