Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भक्तपुर–२ मा महेश बस्नेतसँग भिड्दै तीन पूर्वपत्रकार, कसले मार्ला बाजी ?

भक्तपुर ।  भक्तपुर–२ को राजनीतिक स्वभाव सरल छैन। २०४८ सालयता यो क्षेत्रले कसैलाई पनि लगातार म्यान्डेट दिएको छैन। कांग्रेस, नेमकिपा, एमाले—सबैले पालैपालो जित चाखेका छन्, तर निरन्तरता कसैले पाएन। यहाँ मतदाता पार्टीभन्दा पनि क्षण, सन्दर्भ र उम्मेदवारको छवि हेरेर निर्णय गर्छन्। यसपटक ३२ उम्मेदवार मैदानमा छन् । जसमा १७ दलका र १५ स्वतन्त्र उम्मेदवार छन् । तर मुख्य खेल भने सीमित पात्रबीच नै केन्द्रित छ। को को छन् प्रतिस्पर्धीहरू ?

एकातिर संगठन, अनुभव र ‘दोस्रो जित’ को भोक बोकेका महेश बस्नेत छन्। अर्कोतिर ‘नयाँ अनुहार, पुरानो दल’ को दाउ खेलिरहेका कविर राणा। अनि बीचमै परम्परागत राजनीतिविरुद्ध असन्तुष्ट मत समेट्ने अभियानमा राजीव खत्री। यो केवल चुनाव होइन स्थायित्व भर्सेस प्रयोगको भिडन्त हो। महेशको संरचना भारी कि कविरको, राजीवको व्यक्तिगत र रास्वपाको लहर ? परिणामले तय गर्नेछ । 

प्रमुख प्रतिस्पर्धीहरू
१. महेश बस्नेत (एमाले)
बस्नेत चौथोपटक उम्मेदवार बनेका छन् । यसअघि उनी २०७४ मा विजयी भएका थिए । तर २०७९ मा झिनो मतान्तरले कांग्रेसका दुर्लभ थापासँग पराजित भए । दक्षिण भक्तपुरमा एमालेको बलियो संगठनात्मक पकड छ । 
सबल पक्ष:
एमालेको समानुपातिक मत २०७९ मा १७,८७६ मत थियो । जुन कांग्रेसभन्दा अगाडि थियो । स्थानीय तहमा सूर्यविनायकमा एमालेको संरचना मजबुत मानिन्छ । त्यसमाथि मन्त्री हुँदा यो क्षेत्रमा ‘काम गरेको’ बस्नेत सधैँ ब्रान्डिङ गर्छन् । भक्तपुर २ का मतदाता पनि बस्नेतले गरेको विकासलाई मान्छन् । 

दुर्बल पक्ष:
तर २०७९ को पराजयले निरन्तरताको मिथक तोडिएको छ । जेनजी आन्दोलनपछि उनको छवि बिग्रिएको छ । फेरि पत्रकार पृष्ठभूमिका तीन उम्मेदवारले ‘एन्टी-एस्ट्याब्लिसमेन्ट’ मत तान्ने सम्भावना छ । तर  उनी २०७४ को विकास–नारालाई पुनः सक्रिय गर्दै “दोस्रो जित” को मनोवैज्ञानिक मोड खोज्ने ध्याउन्नमा छन् ।

२. कविर राणा (नेपाली कांग्रेस)
राणा २०४८ यता पत्रकारितामा सक्रिय थिए । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन् । तर यो चुनावमा उनी  नयाँ अनुहार हुन् । 
सबल पक्ष:
यो क्षेत्रमा २०७९ मा कांग्रेसले २४,२३९ मत ल्याएर जितेको थियो । मध्यपुर थिमिमा कांग्रेसको स्थानीय वर्चस्व अर्थात् ६ वटा वडा जितेको थियो । उनी ‘फ्रेश फेस’ प्रभाव देखाउन चाहान्छन् । 
दुर्बल पक्ष:
तर व्यक्तिगत चुनावी अनुभव शून्य छ । बस्नेतको तुलनामा संगठनात्मक जरा कमजोर देखिन्छ । कांग्रेसभित्रै पुराना आकांक्षी असन्तुष्टि हुँदा उनलाई त्यसले असर गर्न सक्छ । तर उनको रणनीति भने नयाँ अनुहार, पुरानो भरोसा भन्दै जितलाई निरन्तरता दिने भावनात्मक अपिल गरिरहेका छन् ।

३. राजीव खत्री (रास्वपा)
खत्री न्यूज २४ टेलिभिजन टेलिभिजनमा कार्यक्रम चलाउँदै आएका थिए । कार्यक्रम टू दि प्वाइन्टमा उनले गरेको राजनीतिक टिप्पणीपछि नै उनको फ्यान फलोइङ बढेको थियो । जेनजी आन्दोलनपछि बस्नेत र खत्रीबीच आरोपप्रत्यारोप नै भएको थियो । तर उनले पत्रकारिता छोडेर राजनीतिमा लाग्ने निर्णय गरे । चुनाव अघि रास्वपा प्रवेश गरेका उनी सुरुमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उठ्न चाहान्थे । तर पार्टीले उनलाई भक्तपुर २ को उम्मेदवार बनायो । हुन त खत्रीको उम्मेदवारीले अहिले त्यहाँ पत्रकार हुँदाका राजीबसँग महेशको हुने टिकाटिप्पणी लडाइँ र चुनावी प्रतिस्पर्धालाई दाँजिरहेका छन् । 

सबल पक्ष:
राजीव 
युवामुखी, पुराना दलविरुद्ध कडा भाष्य राख्ने पात्र हुन् । सामाजिक सञ्जालमा सक्रिय समर्थन छ । यहाँ २०७९ समानुपातिकमा रास्वपा ११,८९६ मत ल्याएर तेस्रो ठूलो दल बनेको थियो ।

दुर्बल पक्ष:
तर यहाँ रास्वपाको संगठन कमजोर छ । स्थानीय जरा सीमित छ । नयाँ प्रवेशले ‘कमिटमेन्ट’ प्रश्न उठाएको छ । यद्यपि उनी कांग्रेस–एमालेबाट असन्तुष्ट मत तान्ने योजनामा छन् ।

४. रामप्रसाद सापकोटा (नेकपा – माओवादी धार)
रामप्रसाद सापकोटालाई अर्को नामले चिनिन्छ दीपशीखा । उनी  वाईसीएल पूर्वअध्यक्ष हुन् भने उनको पृष्ठभूमि सशस्त्र जनयुद्धसँग जोडिन्छ । 
सबल पक्ष:
कुनैबेलाको माओवादी अहिले एकीकृतमा समाजवादीसहित बाम घटकसँग मिलेर बनेको नेकपाको यहाँ संगठनात्मक अनुशासन छ ।उनी मध्यपुर थिमिमा बसोबास गर्छन् । 

दुर्बल पक्ष:
तर उनी भक्तपुरका लागि नयाँ अनुहार हुन् । माओवादीको घट्दो आधारले पनि यहाँ उनलाई चुनौती देखिन्छ ।

५. रमेश वैद्य (नेमकिपा)
वैद्य ४० वर्षमुनिका पात्र हुन् । नेमकिपाको स्थानीय जरा छ । 

सबल पक्ष:
भक्तपुर सुरुवातदेखि नै नेपाल मजदुर किसान पार्टीको अभेद्य किल्ला मानिन्छ । त्यसैले वैद्यका लागि यो सबल पक्ष हो र
दुर्बल पक्ष:
तर भक्तपुर–२ मा सीमित विस्तार छ । भक्तपुर १ जस्तो प्रभाव २ मा देखिँदैन ।

६. विक्रम थापा (राप्रपा)
थापा यहाँ युवा अनुहार हुन्छ । यहाँ राप्रपाको पनि  संगठनात्मक शक्ति सीमित छ । 

७. जितराम लामा (उज्यालो नेपाल)
कुलमान घिसिङको ब्रान्ड पूँजी प्रयोग गर्ने प्रयास गर्दै लामा उम्मेदवार बनेका छन् । तर नयाँ खुलेको दल र संगठन र संरचना कमजोर छ ।

८. जन्मदेव जैसी (प्रलोपा)
जन्मदेव पत्रकार पृष्ठभूमिका पात्र हुन् । उनले पत्रकारको हक हितका लागि सधैँ आवाज उठाउँदै आए । तर अब त्यस्तै अधिकारको मुद्दा उठाएर भक्तपुर २ का मतदाताको मत रूपान्तरण चुनौतीपूर्ण देखिन्छ । 

२०७९ को परिणामले के भन्छ ?
२०७९ मा प्रत्यक्षतर्फ यहाँ कांग्रेसका उम्मेदवार दुर्लभ थापा २४ हजार २ सय ३९ मतसहित विजयी भएका थिए । बस्नेत २३ हजार २ सय ८२ मत ल्याएर पराजित भएका थिए । यहाँ नेपाल मजदुर किसान पार्टी तेस्रो भएको थियो ।

समानुपातिकतर्फ
समानुपातिकतर्फ यहाँ 
एमालेले  १७ हजार ८ सय ७६ मत ल्याएको थियो ।
कांग्रेसले १४ हजार ८ सय ९४  मत ल्याएको थियो ।
रास्वपाले ११ हजार ८ सय ९६ मत ल्याएको थियो।

प्रत्यक्षमा कांग्रेसले झिनो जित निकाले पनि समानुपातिक र प्रदेश मतमा एमाले अगाडि थियो । यसले देखाउँछ भक्तपुर २ मा व्यक्तिगत छवि भर्सेस पार्टी संरचनाको द्वन्द्व निर्णायक हुनेछ । 

यहाँ ९८ हजार ३ सय ५६ मतदाता छन् भने  ३९ मतदान स्थल र १ सय १४ मतदन केन्द्र छ । यहाँ दलभन्दा उम्मेदवारको व्यवहार हेर्छन्।
स्थानीय उपस्थिति र पहुँचलाई महत्व दिन्छन्। ‘एकपटक अवसर दिइसकेपछि’ दोहोर्‍याउन हिच्किचाउँछन्। यसपटक तीन पत्रकार उम्मेदवार—राणा, खत्री, जैसी—ले ‘एन्टी-पोलिटिक्स’ ऊर्जा निर्माण गरेका छन्। यसले परम्परागत दुई ध्रुवबीच मत विभाजन गरिरहेको संकेत छ।

जेनजी आन्दोलनपछि भक्तपुर २ को नजर फेरिएको छ । कोही परिवर्तन खोजिरहेका छन् कोही विकास गरेका पात्रलाई मत जाहेर गर्ने बताइरहेका छन् । तर भक्तपुर–२ को इतिहास भन्छ—निरन्तरता यहाँ स्वीकारिँदैन। २०७४ मा एमाले, २०७९ मा कांग्रेस विजयी भयो । मत संरचना हेर्दा एमालेको कोर बलियो, तर प्रत्यक्ष जितका लागि निर्णायक ‘स्विङ’ आवश्यक देखिन्छ । कांग्रेस नयाँ अनुहारमा दाउ लगाउँदैछ, तर संगठनात्मक जालो कमजोर छ । रास्वपा परिवर्तनको लहर र बालेनलाई प्रधानमन्त्री बनाउने घोषणासहित चुनावमा होमिएको छ । 
यदि मतदान दिनसम्म समीकरण यस्तै रह्यो भने, झिनो अन्तरको प्रतिस्पर्धामा दोस्रो प्रयासको भोक, स्थिर संगठन र दक्षिण भक्तपुरको पकडले परिणामलाई एकतर्फ ढल्काउने सम्भावना अलि बढी देखिन्छ। तर भक्तपुर–२ को इतिहासले सधैं जस्तै अन्तिम क्षणमा चकित पार्न सक्छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार