Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रधानमन्त्री सुशीला कार्की भन्छिन् 'मैले त आफ्नै राजीनामाको समाचार पनि पढेँ'

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमा फैलिने अफवाहप्रति टिप्पणी गर्दै आफूले नै आफ्नो ‘राजीनामा’ दिएको खबर पढ्नुपरेको प्रसंग सुनाएकी छन्।

मंगलबार सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारीबारे ब्रिफिङका क्रममा उनले यस्तो अनुभव सार्वजनिक गरेकी हुन्। “मैले त कतिपटक आफ्नै राजीनामाबारे पढ्नुपरेको छ। कतिले मैले राजीनामा दिइसकेको भनेर पनि लेख्दारहेछन्,” उनले हल्का हाँसोसहित भनिन्।

सुरक्षा निकायले सामाजिक सञ्जालमा फैलिने गलत सूचना अहिलेको प्रमुख चुनौती भएको जानकारी गराएपछि प्रधानमन्त्रीले यो प्रसंग उठाएकी थिइन्। निर्वाचनको मौन अवधिको पूर्वसन्ध्यामा भ्रामक सूचना र अपुष्ट दाबीहरू अझ बढ्न सक्ने भन्दै उनी सजग रहन आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले यस्ता अफवाहले जनमानसमा अन्योल र अविश्वास सिर्जना गर्ने भएकाले सुरक्षा संयन्त्रले निगरानी बढाउनुपर्ने बताइन्। उनले तथ्यहीन सूचना फैलाउने प्रवृत्तिप्रति कडा सतर्कता अपनाउन निर्देशनसमेत दिएकी छन्।

निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट दाबी र गलत सूचनाले सुरक्षा निकायका लागि नयाँ चुनौती थपेको देखिन्छ। प्रधानमन्त्रीको आफ्नै अनुभवले पनि यही समस्याको गम्भीरता उजागर गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार