Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रधानमन्त्रीले लिइन् निर्वाचन सुरक्षा ब्रिफिङ, २७५ बम डिस्पोजल टोली परिचालन गरिएको सेनाको भनाइ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार साँझ बालुवाटारमा सबै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएकी छन्। सुरक्षा निकायले हालसम्म कुनै ठूलो सुरक्षा चुनौती नदेखिएको जानकारी गराएका छन्। ब्रिफिङपछि प्रधानमन्त्री कार्कीले समग्र अवस्था सन्तोषजनक रहेको बताउँदै सम्भावित जोखिमप्रति सतर्क रहन निर्देशन दिइन्।

बम डिस्पोजलदेखि हेलिकप्टर तयारीसम्म
नेपाली सेनाले देशभर २७५ स्थानमा बम डिस्पोजल टोली परिचालनको तयारी, स्ट्यान्डबाइ हेलिकप्टर व्यवस्था र मतदान सामग्री ढुवानी योजनाबारे जानकारी गराएको थियो। अहिलेसम्म १३ स्थानमा शंकास्पद वस्तु डिस्पोज गरिएको सेनाले जनाएको छ। सुरक्षा फौज उच्च सतर्कतामा राखिएको र आवश्यक परे ३० मिनेटभित्र अतिरिक्त सहायता पुग्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ। थप बल आवश्यक भए ९० मिनेटभित्र परिचालन गर्न सकिने तयारी रहेको बताइएको छ।

सामाजिक सञ्जालको अफवाह मुख्य चुनौती
सुरक्षा निकायले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना अहिलेको प्रमुख चुनौती भएको उल्लेख गरेका छन्। मौन अवधिको पूर्वसन्ध्यामा ‘मिसइन्फरमेशन’ र ‘डिसइन्फरमेशन’ अझ बढ्न सक्ने भन्दै यस विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ। यस क्रममा प्रधानमन्त्री कार्कीले आफ्नो उदाहरण दिँदै, “मैले त कतिपटक आफ्नै राजीनामाबारे पढ्नुपरेको छ, कतिले राजीनामा दिइसकेको भनेर लेख्दारहेछन्,” भन्दै हाँसोका साथ टिप्पणी गरेकी थिइन्। उनले यस्ता भ्रामक सूचनाप्रति थप सचेत रहन निर्देशन दिइन्।

दैनिक समीक्षा र विशेष निगरानी
हरेक दिन गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने र दैनिक समीक्षा गर्ने व्यवस्था मिलाइएको छ। प्रत्येक प्रदेशमा एक एआईजी र गृह मन्त्रालयबाट एक सहसचिवलाई जिम्मेवारी दिइएको जानकारी पनि ब्रिफिङमा गराइएको थियो। शंकास्पद रूपमा धेरै मत खस्ने क्षेत्रहरूमा विशेष निगरानी गरिने र त्यस्ता स्थानमा अघिल्लोपटक खटिएका कर्मचारीलाई नदोहर्‍याउने तयारी गरिएको छ। गडबडी प्रमाणित भए कडा कारबाही गर्ने सुरक्षा निकायले जनाएको छ। संभावित झडप रोक्न प्रत्येक उम्मेदवारका एक प्रतिनिधिलाई जिल्ला सुरक्षा समितिसँग समन्वय गराइने र फरक दलका उम्मेदवारको घरदैलो कार्यक्रमको रुट नजुध्ने गरी व्यवस्थापन गरिएको पनि जानकारी दिइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार