Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सर्वपक्षीय बैठकमा प्रधानमन्त्री सुशीलाले के भनिन् ?

काठमाडौं । सिंहदरबारमा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन तथा व्यवस्थापनसम्बन्धी सर्वपक्षीय छलफलको समापन मन्तव्य दिँदै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन अनिवार्य र अपरिहार्य भएको स्पष्ट पारेकी छन्।
प्रधानमन्त्री कार्कीका अनुसार छलफलमा राजनीतिक दल, नागरिक समाज र जेन–जी प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए। अधिकांश सहभागीको निष्कर्ष एउटै थियो—निर्वाचन हुनुपर्छ। केही दलले अदालतमा मुद्दा विचाराधीन रहेको विषय उठाए पनि निर्वाचन नहुने पक्षमा कोही नरहेको प्रधानमन्त्रीले बताइन्।
छ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई संकट होइन, परिवर्तनको अवसरका रूपमा बुझ्न आग्रह गरिन्। “निर्वाचन खुसीको घडी हो, शान्तिपूर्ण परिवर्तनको बाटो हो,” उनले भनिन्।
भदौ २३ र २४ गतेका हिंसात्मक घटनाले देशलाई झस्काएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसपछि समाजले परिवर्तनको आवश्यकता महसुस गरेको बताइन्। युवाशक्ति र जेन–जीका मागप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो। जेन–जीले उठाएका प्रश्नहरूको समाधान हुनैपर्नेमा सबै एकमत रहेको उनले प्रस्ट पारिन्।
राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै प्रधानमन्त्री कार्कीले दलभित्रका असहमति र मनमुटावको असर जनतामाथि पर्न नदिन चेतावनी दिइन्। “यो देशको सर्वेसर्वा जनता हुन्, दल होइन,” उनले भनिन्।
प्रधानमन्त्रीले सबै दललाई निर्वाचन प्रक्रियामा सहभागी हुन र शान्तिका पक्षमा एकजुट हुन आह्वान गरिन्। सबै राजनीतिक शक्तिहरू एक भए हिंसा र अराजकता फैलन नसक्ने उनको दाबी थियो।
अन्त्यमा उनले सरकार निरन्तर काम गरिरहेको, बाँकी समयलाई घण्टामा गनेर प्रयोग गरिरहेको बताउँदै राजनीतिक दल, नागरिक समाज, कर्मचारी र सञ्चारकर्मी सबैलाई मुलुकको उन्नतिका लागि सहयोग गर्न आग्रह गरिन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार