Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित तथा प्रसारित सामग्रीमाथि निगरानी तीव्र बनाएको छ। आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवर्द्धन एकाइले हानिकारक सूचनाको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्दै आएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म ६१२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएका छन्। ती सामग्री व्यवस्थापन र हटाउन आयोगले सम्बन्धित निकायहरूलाई पत्राचार गरेको र केही सामग्री हटाइसकिएको जानकारी दिइएको छ।

साइबर ब्युरो र दूरसञ्चार प्राधिकरणमार्फत कारबाही
नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३३६ वटा सामग्री हटाउन पत्राचार गरिएकोमा १२९ वटा सामग्री हटाइएको छ। वेबसाइट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो। ती वेबसाइटहरूले निर्वाचन नतिजाको पूर्वानुमान गर्दै भ्रामक तथा अनुमानित सूचना सार्वजनिक गरेको पाइएकाले ब्लक गर्न सिफारिस गरिएको आयोगले जनाएको छ।

प्रेस काउन्सिल र स्पष्टीकरण प्रक्रिया
प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लङ्घनको आरोपमा ९० जनासँग स्पष्टीकरण मागेको छ। सम्बन्धित व्यक्तिहरूले आयोगले तोकेको समयसीमाभित्र स्पष्टीकरण पेश गरिरहेका छन्। जिल्लास्तरमा गठित अनुगमन समितिहरूले पनि निगरानी जारी राखेका छन्।

कडाइका अन्य निर्देशन
आयोगले निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न, बालबालिकाको प्रयोग नगर्न, निर्वाचन चिन्हको भौतिक प्रयोग नगर्न, शिक्षक तथा कर्मचारीलाई प्रचारप्रसारमा सहभागी नगराउन र स्थानीय जनप्रतिनिधिलाई आफ्नो कार्यक्षेत्रमा प्रचारमा नउत्रिन निर्देशन दिएको छ। निर्वाचन अवधिभर आचारसंहिता विपरीत गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिइने आयोगले जनाएको छ। उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार