Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

काठमाडौं चक्रपथको दोस्रो खण्ड विस्तार अघि बढ्ने

काठमाडौं । काठमाडौं चक्रपथको दोस्रो खण्ड, कलंकी–वसुन्धरा सडक विस्तारको काम अब अघि बढ्ने भएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार हुन लागेको ८.२ किलोमिटर सडक खण्ड कर छुटको निर्णय अड्किँदा रोकिएको थियो। मंगलबारको मन्त्रिपरिषद् बैठकले आवश्यक कर छुट दिने निर्णय गरेसँगै प्रक्रिया अगाडि बढ्ने भएको हो।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार वैदेशिक सहायता परिचालन नीति, २०८२ अनुसार अनुदानमा सञ्चालित आयोजनामा कर नलाग्ने व्यवस्था रहेकाले सोही आधारमा निर्णय गरिएको हो। यसअघि गत माघ १४ गते अर्थ मन्त्रालयले कर छुटका लागि सहमति दिएको थियो। मन्त्रिपरिषद् स्वीकृतिपछि अब निर्माण सामग्री, उपकरण, भिसा शुल्कलगायतमा सरकारले कर नलिने भएको छ ।

कार्यान्वयन सम्झौतापछि ठेक्का प्रक्रिया
सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार अब नेपाल र चीनबीच कार्यान्वयन सम्झौता हुनेछ। त्यसपछि चिनियाँ पक्षले निर्माण कम्पनी छनोट गरेर काम अघि बढाउनेछ। निर्माण सम्पन्न भएपछि सडक नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ।

चक्रपथको पहिलो खण्ड कलंकी–कोटेश्वर पनि चीनले नै विस्तार गरेर हस्तान्तरण गरेको थियो। दोस्रो चरणका लागि नेपाल र चीनबीच २०७५ असोजमा सम्झौता भएको थियो। यस खण्डको लागत ५६७.१३ मिलियन चिनियाँ युआन रहेको छ, जुन अनुदान हो।

डीपीआर तयार, सम्झौता बाँकी
पछिल्लो पटक २०८१ भदौमा दुई देशबीच सम्झौतापत्र आदानप्रदान भएको थियो। त्यसपछि सीसीसीसी फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स र सीआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेका छन्। तर कार्यान्वयन सम्झौता नहुँदा डीपीआर औपचारिक रूपमा नेपाललाई हस्तान्तरण भएको छैन।

सुधारिएको डिजाइन
सडक विभागका अनुसार पहिलो खण्डमा देखिएका कमजोरीहरू दोस्रो खण्डमा सच्याइएको छ। पहिलो चरणमा मेडियन र ओभरपासजस्ता संरचना निर्माण नभएकाले पछि नेपाल सरकारले थप निर्माण गर्नुपरेको थियो। दोस्रो खण्ड आठ लेनमा स्तरोन्नति हुनेछ। सडकमा ३ मिटरको मेडियन, दायाँ–बायाँ २.७५ मिटर सर्भिस लेन, १४ मिटर मुख्य लेन र ०.५ मिटर स्ट्रिम रहनेछ।

पैदलयात्रीका लागि चार वटा आकाशे पुल निर्माण गरिनेछ। हालको गोंगबु बसपार्कनजिकको विष्णुमती पुल हटाएर चार लेनको ओभरपास बनाइनेछ। सर्भिस लेनका लागि दुवै तर्फ नयाँ पुल निर्माण हुनेछन्। साथै वनस्थली–ढुंगेधारा क्षेत्रमा अन्डरपाससमेत निर्माण गरिनेछ। सरकारको निर्णयसँगै अब चक्रपथ विस्तारको दोस्रो चरण व्यवहारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार