NL न्यूज
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
रास्वपाका नेताहरूका अनुसार पूर्व सांसद एवं नेता असिम शाहको घरमा भेटवार्ता भएको हो । भेटमा आसन्न निर्वाचनमा सहकार्य गर्ने विषयमा केन्द्रित थियो। छलफलमा दुई नेताबीच मिलेर अघि बढ्ने विषयमा सकारात्मक धारणा बनेको रास्वपाले जनाएको छ।
रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै चुनावमा जाने तयारी गरेको छ। यस विषयमा शिशिर खनालले एक टेलिभिजन अन्तर्वार्तामा खुलासा गरिसकेका छन् ।
पार्टी सभापतिको जिम्मेवारी पुनः सम्हालेसँगै सभापति लामिछानेले जेन–जी आन्दोलनलाई संस्थागत गर्दै वैकल्पिक शक्तिहरू एकजुट भएर निर्वाचनमा जाने घोषणा गरेका थिए । लामिछानेसँगै भेटमा उपसभापति डीपी अर्याल पनि सहभागी भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
गत बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएसँगै लामिछाने गत शुक्रवार रिहा भएका थिए । त्यसयता आइतबार काठमाडौं आइपुगेका रविले पार्टी कार्यालय पुगेर सभापतिको जिम्मेवारी पुन: सम्हालेका थिए ।
सोही दिन लामिछाने र प्रधानमन्त्रीबीच पनि भेटवार्ता भएको थियो । लामिछानेले घाइते जेनजी र तिनका परिवारसँग पनि भेटेका थिए । आज बालेनसँगको भेटसँगै दुई जना बीच आगामी दिनको रणनीति निर्माण हुने बुझिएको छ ।





प्रतिक्रिया दिनुहोस्