Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ग्राउण्ड जिरो मधेश

फागुन २१ पछि कुन दल बन्ला मधेशको पहिलो शक्ति ? के भन्छन् मधेश प्रदेशका मतदाता ?

आठ जिल्ला र ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मधेश प्रदेश यसपटक फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपालबीचको गठबन्धन बन्यो । त्यसको प्रत्यक्ष लाभ एमालेले उठायो र मधेशमा पहिलो शक्ति बन्यो । प्रत्यक्षतर्फ एमालेले ९ सिट जितेको थियो भने नेपाली कांग्रेस ७, जसपा नेपाल ६, लोकतान्त्रिक समाजवादी पार्टी ३, जनमत पार्टी १, माओवादी केन्द्र १, एकीकृत समाजवादी २ र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका थिए। समानुपातिकतर्फ कांग्रेस ४,३४,९७१ मतसहित पहिलो, एमाले ३,७१,७०९ मतसहित दोस्रो, जसपा नेपाल २,९८,७४४, जनमत २,९६,४८४, माओवादी केन्द्र १,७९,८७०, लोसपा १,०९,३९०, एकीकृत समाजवादी १,०७,०८४, राष्ट्रिय स्वतन्त्र पार्टी ७२,९३५, राप्रपा ६८,६५३ र नागरिक उन्मुक्ति पार्टी ४१,००१ मतसहित प्रतिस्पर्धामा थिए।

तर अहिलेको परिदृश्य पूर्णतः बदलिएको छ । दलहरु एक्ला-एक्लै चुनावी मैदानमा छन् । यसपटक कम्युनिस्ट शक्तिहरू समग्र रूपमा रक्षात्मक अवस्थामा देखिएका छन् । एमालेको सांगठनिक उपस्थिति कतिपय क्षेत्रमा भए पनि २०७९ जस्तो लहर छैन । अर्कोतर्फ रास्वपा युवापंक्तिमा आकर्षणको केन्द्र बनेको छ, घण्टी प्रतीकप्रति उत्साह देखिन्छ, बालेन शाहप्रतिको ‘क्रेज’ पनि उल्लेखनीय छ । तर, उम्मेदवार छनोटमा आर्थिक चलखेलको आरोप, अन्तिम समयमा दल परिवर्तन गरेर आएका व्यक्तिलाई टिकट दिएको असन्तुष्टि र कमजोर स्थानीय संरचनाले उसको प्रभाव कति मतमा रूपान्तरित हुन्छ भन्ने प्रश्न खुला छ । उदाहरणका रूपमा धनुषा–१ मा रास्वपाका किशोरी साह कमल व्यवसायी पृष्ठभूमिबाट आएका उम्मेदवार हुन्, जसलाई लिएर मिश्रित प्रतिक्रिया देखिन्छ।

मधेश–केन्द्रित दलहरू पनि यसपटक दबाबमा छन् । जसपा नेपाल र लोसपा एकताबद्ध भएर मैदानमा उत्रिए पनि अघिल्लो चुनावको जस्तो ठोस पकड देखिँदैन । जनमत पार्टी र आम जनता पार्टी क्षेत्रगत रूपमा प्रभावशाली भए पनि प्रदेशव्यापी लहर छैन । यसबीच कांग्रेस भने मनोवैज्ञानिक रूपमा सबल देखिएको छ । सभापति गगन थापा लाई सर्लाही–४ मा उम्मेदवार बनाएपछि संगठनमा नयाँ ऊर्जा आएको छ ।
बारामा चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ४ मा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) को व्यक्तिगत प्रभाव उल्लेखनीय छ । तर त्यो संगठनभन्दा व्यक्तित्वमा आधारित देखिन्छ । अन्य तीन क्षेत्रमा कांग्रेस मुख्य प्रतिस्पर्धामा छ र रास्वपाले पनि कडा टक्कर दिइरहेको छ । मधेश–केन्द्रित दलले मत समीकरण तलमाथि पार्न सक्ने अवस्था छ ।

पर्सामा कांग्रेसले चारै क्षेत्रमा पुरानै उम्मेदवार दोहोर्‍याएको छ । पर्सा क्षेत्र नं. १ मा अनिल रुगंटा प्रतिस्पर्धामा छन् भने रास्वपाका बुद्धिप्रसाद पन्त र जसपा त्यागेर एमाले प्रवेश गरेका प्रदीप यादवको व्यक्तिगत प्रभाव देखिन्छ । पर्सा क्षेत्र नं. २ मा कांग्रेसका अजयकुमार चौरसिया, रास्वपाका सुशील कुमार कानु र जसपा नेपालका अशोककुमार अग्रवालबीच कडा प्रतिस्पर्धा छ । पर्सा क्षेत्र नं. ३ मा सुरेन्द्रप्रसाद चौधरी र पर्सा क्षेत्र नं. ४ मा रमेश रिजाल कांग्रेसबाट उम्मेदवार छन् । पर्सामा रास्वपा निर्णायक जितको अवस्थामा छैन, एक क्षेत्रमा एमाले र बाँकी क्षेत्रमा कांग्रेस वा जसपाले बाजी मार्न सक्ने आकलन छ ।

रौतहटमा बहुकोणीय प्रतिस्पर्धा छ । रौतहट–१ मा नेकपा एसका माधवकुमार नेपाल रक्षात्मक अवस्थामा छन् । रौतहट–२ मा कांग्रेसका फिरदोश आलम बलियो देखिन्छन् । रौतहट–३ मा आम जनता पार्टीका प्रभु साह प्रभावशाली छन् भने जसपा नेपालका गोविन्द चौधरी टक्करमा छन् । रौतहट–४ मा कांग्रेसका देवप्रसाद तिमलसेना र रास्वपाका गणेश पौडेलबीच कडा प्रतिस्पर्धा देखिन्छ । यहाँ आमजनता पार्टीका उम्मेदवार ऋषि धमाला काउन्टमा छैनन् । एमाले यहाँ प्रभावहीनजस्तै छ ।

सर्लाहीमा सबैभन्दा बढी चासो केन्द्रित छ। सर्लाही–४ मा गगन थापा मैदानमा छन्। उनलाई एमालेका अमनिश कुमार यादव र रास्वपाका अमरेश कुमार सिंहले चुनौती दिएका छन् । अमनिश सर्लाहीमा प्रभाव राख्ने शिवपुजन यादवका छोरा हुन् । सर्लाही–३ मा नारायणकाजी श्रेष्ठ सुरक्षित देखिँदैनन्; रास्वपाका नरेन्द्र साह कलवार र एमालेका हरि उप्रेती प्रतिस्पर्धामा छन् । सर्लाही–१ मा कांग्रेसका शम्भुलाल श्रेष्ठ, जसपाका रामप्रकाश चौधरी र रास्वपाकी नितिमा भण्डारी कार्कीबीच प्रतिस्पर्धा छ । सर्लाही क्षेत्र नं. २ मा कांग्रेसका सरोज कुमार, जसपाका भरत चौधरी र रास्वपाका रबिन महतो मैदानमा छन् ।

महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो अगाडि देखिन्छन्, तर नेकपाका गिरिराजमणि पोखरेल, कांग्रेसका मुकेश काफ्ले र एमालेका लक्ष्मी महतो कोइरी प्रतिस्पर्धामा छन् । महोत्तरी–२ मा जसपाका शरत सिंह भण्डारी सुरक्षित छैनन्;  रास्वपाका दीपककुमार साह र कांग्रेसकी किरण यादव चुनौती बनेका छन्। महोत्तरी–३ मा कांग्रेसका बजरंग नेपाली र रास्वपाका उज्ज्वल कुमार झा मुख्य प्रतिस्पर्धी छन् । महोत्तरी–४ मा कांग्रेसका महेन्द्रकुमार राय, रास्वपाकी गौरी कुमारी र जसपाका सुरेन्द्रकुमार यादव त्रिपक्षीय भिडन्तमा छन् ।

धनुषा–१ मा रास्वपाका किशोरी साह कमल र नेकपाका मातृकाप्रसाद यादव बीच कडा प्रतिस्पर्धा छ । धनुषा–२ मा कांग्रेसका दिनेशप्रसाद यादव परसैला, रास्वपाका राम विनोद यादव र जसपाका पशुपति यादव प्रतिस्पर्धामा छन् । धनुषा–३ मा कांग्रेसका विमलेन्द्र निधि तुलनात्मक रूपमा अगाडि देखिए पनि रास्वपाका मनिष झा र एमालेकी जुलीकुमारी महतो टक्करमा छन् । धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठ प्रतिस्पर्धामा छन् । यसपटक महासेठ र जुली पति-पत्नी दुवै सहज अवस्थामा छैनन्।

सिराहामा क्षेत्र नं. १ मा रास्वपाका बब्लु गुप्ता र कांग्रेसका राम सुन्धर चौधरीबीच प्रतिस्पर्धा छ। सिराहा क्षेत्र नं. २ मा कांग्रेसका रामचन्द्र यादव र रास्वपाका शिवशंकर यादव आमनेसामने छन्। सिराहा क्षेत्र नं. ३ मा कांग्रेसका सुभाषचन्द्र यादव बलिया देखिए पनि एमालेका लिलानाथ श्रेष्ठको व्यक्तिगत प्रभाव अन्तिम समयमा निर्णायक हुन सक्छ । नेकपाका विश्वनाथ साह पनि प्रतिस्पर्धामा छन्। सिराहा क्षेत्र नं. ४ मा कांग्रेसकी चन्द्रकला कुमारी यादव, रास्वपाका तपेश्वर यादव र जसपाका राजकिशोर यादवबीच त्रिकोणीय प्रतिस्पर्धा छ।

सप्तरी–३ मा जसपा अध्यक्ष उपेन्द्र यादव तुलनात्मक रूपमा सुरक्षित देखिन्छन् । सप्तरी–२ मा जनमत पार्टीका सीके राउत संघर्षरत छन् र स्वाभिमान पार्टीका सतिकुमार सिंहले चुनौती दिएका छन्। सप्तरी–१ मा कांग्रेसका रामदेव साह र रास्वपाकी पुष्पाकुमारी चौधरी प्रतिस्पर्धामा छन् । सप्तरी–४ मा कांग्रेसका तेजुलाल चौधरी र रास्वपाका सिताराम साह आमनेसामने छन् । भित्री रूपमा सीके राउत र उपेन्द्र यादवबीच समझदारीको सम्भावना रहेको चर्चा पनि छ ।

समग्रमा मधेशमा यसपटक स्पष्ट लहर छैन । एमाले र कम्युनिस्ट शक्ति रक्षात्मक अवस्थामा छन्। कांग्रेस धेरै क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा उभिएको छ । रास्वपा केही क्षेत्रमा जितको दाबीमा भए पनि धेरै ठाउँमा ‘गेम चेन्जर’ भूमिकामा देखिन्छ। मधेश–केन्द्रित दलहरू क्षेत्रगत रूपमा बलिया भए पनि समग्र प्रभाव घट्दो देखिन्छ। अन्तिम साताको ध्रुवीकरण, स्थानीय जातीय–सामुदायिक समीकरण र सम्भावित भित्री सहकार्यले परिणाम उल्ट्याउन सक्छ, तर अहिलेको संकेतले मधेशबाट अलग मत प्रकट हुने देखिन्छ ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार