Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

गगनलाई रविको प्रश्न: “२० वर्षपछि मात्रै कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो?”

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गगन थापाको अभिव्यक्तिप्रति लक्षित गर्दै लामो समय सत्तामा बसेपछि मात्रै पूर्वाधार निर्माणका लागि कानुन संशोधन आवश्यक भएको ‘ज्ञान’ आएको भन्दै प्रश्न उठाएका छन्।

मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भने, “२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो? बल्ल आयो?” उनले थपे, “तपाईंको ज्ञान तपाईंंसँग राख्नुहोला।”

पृष्ठभूमि : ‘बाँध्ने–थुन्ने’ अभिव्यक्तिबाट सुरु विवाद
फागुन ७ गते धनगढीमा आयोजित रास्वपाको सभामा वरिष्ठ नेता बालेन्द्र शाहले निर्माण व्यवसायीलाई लक्षित गर्दै काम ढिला गरे रुखमा बाँध्ने र खोरमा थुन्नेसम्मका अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि प्रतिक्रिया दिँदै कांग्रेस सभापति थापाले काम छिटो गराउन “बाँध्ने–थुन्ने” भन्दा कानुन सुधार आवश्यक पर्ने धारणा सार्वजनिक गरेका थिए।

निर्माण व्यवसायीलाई सन्देश
निर्माण व्यवसायीहरूले शाहको अभिव्यक्तिविरुद्ध विज्ञप्ति निकालेपछि लामिछानेले त्यसतर्फ संकेत गर्दै नेपाल अब विकास निर्माणको बाटोमा अघि बढ्ने दाबी गरे। “२ सिफ्ट, ३ सिफ्टमा काम गर्नुपर्छ भने गर्नुस्, उपकरण अपुग छन् भने तयारी गर्नुस्। विज्ञप्ति निकाल्न पर्दैन,” उनले भने, “अब नेपाल विकासको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन।”

‘डोरीले होइन, कानुनले बाँध्ने’
सभामा लामिछानेले शाहको अभिव्यक्तिको बचाउ गर्दै “बाँध्ने” भन्ने शब्दको आशय डोरीले बाँध्ने नभई कानुनी दायरामा बाँधेर काम गराउने रहेको स्पष्ट पारे। “मान्छेलाई डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँधेर काम गराउने भनेको हो,” उनले भने।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार