NL न्यूज
काठमाडौं । आगामी निर्वाचनको सुरक्षा तयारी तथा देशका विभिन्न भागमा देखिएका अशान्तिका घटनाबारे सूक्ष्म समीक्षा गर्न निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख सहभागी छन्।
बैठकले देशभरको समग्र सुरक्षा अवस्थाको ‘रिस्क असेस्मेन्ट’ गर्दै संवेदनशील र अति संवेदनशील क्षेत्रको अद्यावधिक सूची तयार पार्ने तथा आवश्यक परे थप सुरक्षा बन्दोबस्ती मिलाउने तयारी गरेको छ। विशेषगरी मधेस प्रदेशका रौतहट र वीरगञ्ज लगायत स्थानमा पछिल्ला दिनमा भएका झडप र प्रदर्शनका घटनालाई आयोगले गम्भीर रूपमा लिएको स्रोतको भनाइ छ।
रौतहटमा विभिन्न समूहबीचको विवाद हिंसात्मक बनेको र वीरगञ्जमा ढुंगामुढा तथा प्रदर्शनका कारण तनाव चुलिएको पृष्ठभूमिमा निर्वाचन सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ। ती क्षेत्रको ‘थ्रेट लेभल’ पुनर्मूल्यांकन गर्दै सुरक्षा रणनीतिमा आंशिक फेरबदल, द्रुत प्रतिक्रिया टोली (QRT)को परिचालन र खुफिया संयन्त्रको सुदृढीकरणबारे छलफल केन्द्रित भएको बताइएको छ।
सम्भावित साम्प्रदायिक वा राजनीतिक झडप भएका क्षेत्रलाई अति संवेदनशील सूचिमा राखी अतिरिक्त सुरक्षा बल परिचालन गर्ने तयारी गरिएको छ। स्थानीय विवादलाई तत्काल नियन्त्रणमा लिन, निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन र मतदान केन्द्र आसपास ‘एरिया डोमिनेशन’ बढाउन सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिने तयारी छ।
बैठकबाट सीमावर्ती तथा हाल झडप भएका जिल्लामा सुरक्षा फौजको उपस्थिति बढाउने, सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचनामाथि निगरानी कडा बनाउने र ‘र्युमर कन्ट्रोल मेकानिज्म’ सक्रिय गर्ने ठोस योजना सार्वजनिक हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्