झापा । झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले आफूविरुद्ध घृणा फैलाउने अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका छन्। सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा रवि लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर टिप्पणी गरेकोप्रति घिमिरेले प्रतिक्रिया दिएका हुन्।
घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवार र दलहरूले आफ्ना योजना र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने प्रवृत्ति चुनावी प्रतिस्पर्धामा दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन्।
उनले संसद्मा प्रत्येक सदस्यलाई बोल्ने अधिकार भए पनि संसदीय नियमावलीअनुसार समय निर्धारण हुने स्पष्ट पारे। माइक काट्ने वा काटिने विषय सभामुखको व्यक्तिगत निर्णय नभई पूर्वनिर्धारित समय र नियमअनुसार हुने उनको भनाइ छ।
संसद्को वेबसाइटमा हेर्दा आफू मात्र नभई उपसभामुख वा बैठक सञ्चालन गरेका अन्य सदस्यहरूको पालामा पनि समय सकिएपछि माइक बन्द गरिएका उदाहरण भेटिने उनले उल्लेख गरेका छन्।
लामिछानेको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै घिमिरेले प्रतिशोधको भावना भड्काएर जनतालाई भ्रमित नगर्न आग्रह गरेका छन्। प्रतिस्पर्धी उम्मेदवारबारे व्यक्तिगत टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको स्मरण गराउँदै उनले चुनावी प्रतिस्पर्धा सभ्य र मुद्दामुखी हुनुपर्ने बताएका छन्।
उनले थपेका छन्, ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईँलाई जवाफ दिँदै म पनि भन्न सक्छु- आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? तर म आक्षेप र आफूमाथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु ।’
रविले के भनेका थिए ?
झापा २ का उम्मेदवार इन्दिरा रानाका लागि मत माग्दै रास्वपा सभापति रवि लामिछाने
रास्वपा सभापति लामिछाने झापा पुगेर निवर्तमान सभामुख घिमिरेको आलोचना गरेका थिए। झापा–२ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगरका लागि मत माग्दै उनले ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ?’ भनेर प्रश्न गरेका थिए। संसद्मा भिजिट भिसा प्रकरणमा कारबाहीको माग गर्दा आफ्नो माइक काटिएको आरोप पनि उनले लगाएका थिए। साथै, उनले पूर्वसभामुख घिमिरेमाथि दलगत प्रभावमा काम गरेको आरोप लगाउँदै यस पटक जनताले जवाफ दिनुपर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्