Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

साम्बाको अपिलपछि एन्फाले लेख्यो कतारलाई पत्र, उपचारमा समन्वय गरिदिन आग्रह

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडामा गम्भीर चोट लागेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपचारका लागि कतारसँग समन्वय अघि बढाएको जनाएको छ।

एन्फाले जारी गरेको तीन छुट्टाछुट्टै पत्र तथा प्रेस विज्ञप्तिमा साम्बालाई हालै अष्ट्रेलियन ए–लिग खेल्ने क्रममा एसीएल र एमसीएल चोट लागेको उल्लेख छ। यो उनको दोस्रो एसीएल इन्जुरी भएको जनाइएको छ। यसअघि सन् २०२१ मा उनले कतारस्थित एस्पेटार अर्थोपेडिक एन्ड स्पोर्ट्स मेडिसिन अस्पतालमा शल्यक्रिया गराएकी थिइन्।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कतार फुटबल संघका अध्यक्ष जासिम राशिद अल बुएनैनलाई पत्र लेख्दै साम्बाको उपचार पुनः एस्पेटारमै गराउन सहयोग गरिदिन आग्रह गरेका छन्। जटिल पुनःचोट भएकाले सकेसम्म चाँडो शल्यक्रिया र समग्र उपचारको व्यवस्था मिलाइदिन अनुरोध गरिएको छ। आवश्यक चिकित्सकीय कागजात समेत पठाइएको एन्फाले जनाएको छ।

यसैबीच, एन्फाले परराष्ट्र मन्त्रालयलाई पनि पत्राचार गर्दै उपचारका लागि आवश्यक कूटनीतिक तथा प्रशासनिक सहजीकरण गरिदिन अनुरोध गरेको छ।

अर्को प्रेस विज्ञप्तिमा एन्फाले साम्बाको उपचारका विषयमा विभिन्न टिकाटिप्पणी सार्वजनिक भएपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। व्यावसायिक फुटबलमा खेलाडी घाइते हुँदा उपचारको जिम्मेवारी क्लबको हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको उल्लेख गर्दै, साम्बाको क्लबले प्रारम्भिक उपचार प्रक्रिया अघि बढाइसकेको जनाएको छ। तर उनको स्वास्थ्य अवस्था र नेपाली फुटबलमा गरेको योगदानलाई ध्यानमा राख्दै एन्फाले थप समन्वय र पहल गरिरहेको स्पष्ट पारेको छ।

एन्फाका अनुसार, राष्ट्रिय टोलीका अन्य खेलाडीहरू—जसमा प्रिति राई, विमला चौधरी, हिरा मन्जिल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी लगायतको उपचार खर्च समेत संघले व्यहोर्दै आएको छ।

एन्फाले कप्तान भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, आवश्यक समन्वयका लागि सम्बन्धित निकायहरूसँग निरन्तर पहल भइरहेको जनाएको छ। साम्बाले आज सामाजिक सञ्जालबाट अपिल गरेपछि एन्फाको यो प्रतिक्रिया आएको हो । 
 

637822331_1225567159735767_6520782690400847102_n-1771852881.jpg

641348921_1225561043069712_3649383214942813471_n-1771852879.jpg

641540444_1225565489735934_80676335205623162_n-1771852879.jpg

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार