Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धादिङ बस दुर्घटना अपडेट : मृतक १९ मध्ये ९ जनाको सनाखत, सरकारले बनायो छानबिन समिति

काठमाडौं ।  धादिङमा भएको बस दुर्घटनापछि सरकारले घटनाको छानबिन गर्ने निर्णय गरेको छ। सोमबार गृह मन्त्रालयमा बसेको बैठकले औपचारिक रूपमा छानबिन समिति गठन गर्ने निष्कर्ष निकालेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।

बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि तथा तीन वटै सुरक्षा निकायका प्रमुख सहभागी थिए। दुर्घटनाको कारण, सडकको अवस्था, सवारीको प्राविधिक पक्ष र व्यवस्थापन प्रणालीबारे विस्तृत अध्ययन गरिने बताइएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टुअर्ट डोमिनिक इथान, पोखरा–३० का विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई काठमाडौं नागार्जुन बस्ने चन्द्रबहादुर कुँवर, तनहुँ व्यास–४ का ओमकुमार मल्ल र धादिङ त्रिपुरासुन्दरी–४ का इन्जिनियर ठकुरी रहेका छन्।

त्यस्तै तनहुँ शुक्लागण्डकी–७ की विष्णुमाया ढकाल, काठमाडौं बौद्ध टुसालका लोपसाङ गोले, तनहुँ भिमाद–६ का हरिप्रसाद सिग्देल र पाल्पा तानसेन–२ का नविन श्रेष्ठको पनि पहिचान खुलेको छ। सनाखत हुन बाँकी १० जनामध्ये ७ पुरुष र ३ महिला छन्। तीमध्ये एक पुरुषको  ट्रमामा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार बसमा चालकसहित ४४ जना सवार थिए। दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली र स्थानीयको सहकार्यमा उद्धार गरिएको थियो। १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार