Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

पर्सा । वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था जटिल बनेपछि स्थानीय प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सा ले बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार अर्को सूचना नआएसम्म सर्वसाधारणको आवतजावत, भेला, जुलुस, सभा–सम्मेलन र अन्य सामूहिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। यो निर्णय स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गरिएको हो।

कर्फ्यु लागू हुने क्षेत्र
प्रशासनले कर्फ्युको चार किल्ला पनि तोकेको छ।
पूर्व: बाइपास रोड
पश्चिम: सिर्सिया नदी
उत्तर: गण्डक चोक
दक्षिण: नेपाल–भारत सीमा नजिकको शंकराचार्य गेट क्षेत्र
उक्त सिमानाभित्र कुनै पनि प्रकारको आवागमन वा सार्वजनिक गतिविधि गर्न नपाइने आदेशमा उल्लेख छ।

अत्यावश्यक सेवा सञ्चालनमा
कर्फ्युका बीच पनि एम्बुलेन्स, दमकल, शव वाहन तथा स्वास्थ्यकर्मीका सवारीसाधनलाई निर्वाध सञ्चालनको अनुमति दिइएको छ। सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थी, पर्यटकका सवारी साधन तथा कूटनीतिक नियोगका गाडीलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ। हवाई टिकट भएका यात्रुको आवागमनमा अवरोध नपुर्‍याउने नीति पनि अपनाइएको छ।

पछिल्ला घटनाक्रमका कारण सामाजिक सद्भावमा असर पर्न सक्ने संकेत देखिएपछि यो निर्णय गरिएको प्रशासनको भनाइ छ। हाल वीरगञ्जका मुख्य चोक तथा संवेदनशील स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार