Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धादिङ बस दुर्घटना अपडेट: ट्रमा सेन्टरमा थप एकको गयो ज्यान

काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ। ट्रमा सेन्टरमा उपचार भइरहेको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृतक स्याङ्जा निवासी रहेको प्रहरीले जानकारी दिएको छ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडाबाट तल खसेर त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो। बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौँसहित विभिन्न अस्पताल पठाइएको थियो। केही अचेत घाइतेलाई मलेखु र जिल्ला अस्पतालमा उपचारका लागि लगिएको थियो।

रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्‍याफ्टिङ व्यवसायीको सहयोगमा उद्धार कार्य गरिएको थियो। घटनास्थल नदी किनारको अप्ठेरो भूभागमा रहेकाले डुंगाको सहायताबाट यात्रुलाई करिब एक किलोमिटर तलसम्म सारेर त्यहाँबाट सडकमा उकालो चढाउँदै एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।

बस सडकबाट तल खसेर त्रिशूली किनारको ढुंगामा ठोक्किँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। रातिको समय, दुर्गम स्थान र उद्धार सामग्री अभावका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार