Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इंग्ल्यान्डसँग ५१ रनले पराजित, श्रीलंका दबाबमा

श्रीलंका । टी–२० विश्वकपअन्तर्गत दोस्रो अन्तिम आठ चरणको खेलमा आयोजक श्रीलंका ५१ रनले इंग्ल्याण्डसँग पराजित भएको छ।
क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा श्रीलंकाले टस जितेर पहिले बलिङ रोजेको थियो।

साल्टको अर्धशतक, इंग्ल्यान्ड १४६ रनमा
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनायो। ओपनर फिल साल्टले ४० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६२ रनको उत्कृष्ट अर्धशतक बनाए। विल ज्याक्सले २१ रन जोडे भने कप्तान ह्यारी ब्रुकले १४ रन बनाए। साम करनले ११ र जेमी ओभरटनले अविजित १० रन जोड्दा अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। कप्तान जोस बटलर भने ७ रनमै आउट भए। श्रीलंकाका लागि दुनिथ वेल्लालागेले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। दिलशान मधुशंका र महेश थिक्षानाले समान २–२ विकेट लिँदा दुष्मन्था चमिराले १ विकेट हात पारे।

९५ रनमै अलआउट श्रीलंका
१४७ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुआत कमजोर रह्यो। नियमित अन्तरालमा विकेट गुमाएको टोली १६.४ ओभरमा ९५ रनमै अलआउट भयो। कप्तान दसुन शनाकाले सर्वाधिक ३० रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। इंग्ल्यान्डका विल ज्याक्सले ३ विकेट लिए। उनले पवन रत्नायके र कुसल मेन्डिसलाई लगातार दुई बलमा आउट गरे। जोफ्रा आर्चरले पथुम निसांकालाई आउट गर्दै श्रीलंकामाथि थप दबाब सिर्जना गरेका थिए। यस जितसँगै इंग्ल्यान्डले अन्तिम आठ चरणमा महत्वपूर्ण दुई अंक जोडेको छ भने श्रीलंका प्रतियोगितामा दबाबमा परेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार