Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन हुँदैन भन्ने हल्ला फैलाउनेलाई निर्वाचन आयोगको सन्देश 'अब मतदान रोकिँदैन'

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनलाई मुलुकको सुशासन र संविधानको रक्षा गर्ने महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै मतदातासहित सबै सरोकारवालालाई ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्। उनले स्पष्ट पारे कि निर्वाचनको मिति तोकिएपछि फैलिएका हल्ला र संशयहरूले मतदान प्रक्रिया रोक्न सक्दैन। “निर्वाचनको विकल्प निर्वाचन नै हो,” उनले दोहोर्‍याए। केही कुण्ठित तत्वहरूले ‘निर्वाचन रोकिन्छ कि’ भन्ने भ्रम फैलाउन खोजे पनि नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन्। २१ गते बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान सम्पन्न हुने उनले सुनिश्चित गराए।

भण्डारीले निर्वाचन आयोग र सञ्चार जगतलाई एउटै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै आयोगले व्यवस्थापकीय पक्ष हेरे पनि माहोल निर्माण गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीमा रहेको बताए। “तपाईंहरूले सिर्जना गरेको वातावरण र मलजलका कारण आज निर्वाचनको माहोल यतिसम्म आइपुगेको हो,” उनले भने। यसैले उनले सञ्चारकर्मीलाई निष्पक्ष, जिम्मेवार र तथ्यमै आधारित रिपोर्टिङमा ध्यान दिन आग्रह गरे।

एक महत्वपूर्ण कुरा मत सर्वेक्षणसमेत रहेछ। भण्डारीले मत सर्वेक्षण नगर्न जोड दिए। मतदान अघि गरिने सर्वेक्षणले मतदाताको मनस्थिति परिवर्तन गर्न सक्ने र निर्वाचनको निष्पक्षतामा असर पार्ने भएकाले यसलाई आचारसंहितामा वर्जित गरिएको हो। उनले चेतावनी दिए, “संविधानको अधिकारको नाममा निर्वाचनको निष्ठासँग खेलबाड गर्न पाइँदैन। मत सर्वेक्षणले हार्ने उम्मेदवारलाई जित्ने र जित्ने उम्मेदवारलाई हार्ने देखाएर मतदातामा भ्रम छर्न सक्छ, जुन निर्वाचन प्रक्रियाका लागि घातक हुन्छ।”

यसपटकको निर्वाचनमा ९–१० लाख नयाँ मतदाता थपिएका छन्, जसमा युवाहरूको बहुल्यता छ। भण्डारीले यसलाई सकारात्मक परिवर्तनका रूपमा हेरेका छन्। युवाहरूको जोस, उत्साह र सुशासनको खोजीले नेपालमा लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउने विश्वास उनले व्यक्त गरे। “युवाहरूको यो जोस र उत्साहले सुशासन प्रवाह गर्ने मार्ग प्रशस्त गर्नेछ,” उनले भने।

निर्वाचन पर्यवेक्षणका लागि अनुमति पाएका स्वदेशी र विदेशी संस्थाहरूले आफ्नो सीमा भित्र रहि काम गर्नुपर्नेमा उनले जोड दिए। विगतमा केही संस्थाले विशेष मत चिन्हको पक्षमा प्रचार गरेको अनुभव सुनाउँदै, भण्डारीले सञ्चारकर्मीहरूलाई पर्यवेक्षकको गतिविधिमा ‘तेस्रो आँखा’ जस्तै निगरानी राख्न अपिल गरे।

राजनीतिक विद्रोह र प्रतिनिधि सभा विघटनपछिको जटिल परिस्थितिमा हुने यो निर्वाचनले मुलुकमा भड्किएको अनुशासनलाई लयमा ल्याउने भण्डारीको विश्वास छ। “यो शताब्दीकै पेचिलो निर्वाचन भएपनि हामीले यसलाई सरल बनाइसकेका छौँ। निर्वाचनपछि आउने प्रतिनिधिहरूले जनमतको कदर गर्दै मुलुकमा शान्ति र सुशासन कायम गर्नेछन्,” उनले भने।

अन्ततः उनले सबै सरोकारवालालाई जिम्मेवार भएर, शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन अपिल गरेका छन्। राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारकर्मी सबैले जिम्मेवारीपूर्वक काम गरे मात्र निर्वाचन सफल हुन्छ भन्ने सन्देश उनको भाषणबाट स्पष्ट झल्किन्छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार