Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन रोक्ने प्रयास भइरहेको एमाले अध्यक्ष ‌ओलीको दावी

झापा ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन रोक्ने प्रयास भइरहेको दाबी गर्दै पनि आफ्नो पार्टी विजयको तयारीमा केन्द्रित रहेको बताएका छन्।

आइतबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले कुनै पनि अफवाह वा दबाबबाट नअल्मलिने स्पष्ट पारे। “अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलिकन विजयको तयारीमा लाग्छौं,” उनले भने। ओलीले केही विपक्षी दलहरूले एमालेको झण्डा जलाउने तथा अवाञ्छित गतिविधि गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाए। झण्डाको अपमान गर्नु निर्वाचनविरुद्धको अपराध भएको उनको टिप्पणी थियो।

आफ्नो नेतृत्वमा सरकारले गरेका कामहरूको उल्लेख गर्दै उनले एमाले मात्र जनताको मत जित्ने नैतिक आधार भएको पार्टी भएको दाबी गरे। उनले हुलाकी राजमार्ग निर्माणलाई उपलब्धिमध्ये प्रमुख रूपमा प्रस्तुत गरे। “हिजो हुलाकी बाटोमा चप्पल टाउकोमा बोकेर हिँड्नुपर्थ्यो, आज त्यहाँ आधुनिक सडक बनेका छन्,” उनले भने।

त्यस्तै, ज्येष्ठ नागरिक भत्ता चार हजार रुपैयाँ पुर्‍याएको, साक्षरता दरमा वृद्धि भएको र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएको उल्लेख गरे। बाल तथा सुत्केरी मृत्युदर घटाउन दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको व्यवस्था सुरु गरिएको पनि उनले बताए।
ओलीले आगामी निर्वाचनमा एमालेले स्पष्ट जनादेश पाउने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई उत्साहका साथ अभियानमा जुट्न आग्रह गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार