Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कैलाली–२ मा कांग्रेस–एमालेको गढमा रास्वपाको टक्कर, रास्वपाका ‘कान्छा अभियन्ता’लाई बालेन लहरको भर

कैलाली । सुदूरपश्चिमको प्रवेशद्वार मानिने कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बनेका छन् । बाहिरबाट हेर्दा माहोल शान्त देखिए पनि उम्मेदवारहरू गाउँगाउँमा घरदैलो, भेटघाट र अन्तरक्रियामा सक्रिय छन् ।
मतदाता संख्या बढ्यो
यस क्षेत्रमा हाल १ लाख ७ हजार ७५७ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा १ लाख ४ हजार ९०६ मतदाता रहेकामा यसपटक २ हजार ८५१ मतदाता थपिएका छन् । कैलाली–२ मा लम्कीचुहा नगरपालिका (१–१० वडा),  मोहन्याल गाउँपालिका (१, २, ३, ४, ६ र ७ वडा), बर्दगोरिया गाउँपालिका (१–६ वडा) तथा जानकी गाउँपालिका (२, ५, ८ र ९ वडा) समेटिएका छन् ।

मुख्य प्रतिस्पर्धी को–को ?
यसपटक १३ राजनीतिक दल र २ स्वतन्त्र गरी १५ उम्मेदवार मैदानमा छन् । प्रमुख प्रतिस्पर्धी उम्मेदवारहरू यस्ता छन्-
नेकपा एमाले – सूर्यबहादुर थापा
नेपाली कांग्रेस – विजयबहादुर स्वाँर
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) – नन्दबहादुर साउँद
राष्ट्रिय स्वतन्त्र पार्टी – केपी खनाल
राष्ट्रिय प्रजातन्त्र पार्टी – भरत सिंह विसी
नागरिक उन्मुक्ति पार्टी – पतिराम चौधरी
यसबाहेक नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मानवतावादी पार्टी, नेशनल रिपब्लिक पार्टी, मितेरी पार्टी, नेकपा (माओवादी) र आम जनता पार्टीका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

विशेषगरी एमाले, कांग्रेस, नेकपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । केपी खनाल र पतिराम चौधरी नयाँ अनुहारका रूपमा देखिएका छन् भने अन्य उम्मेदवारसँग अघिल्ला निर्वाचनको अनुभव छ । रास्वपाका खनाल वरिष्ठ नेता बालेन शाह निकट मानिएका छन् । उनी नेपालका विभिन्न स्थानमा सरसफाइ अभियान चलाएर चर्चामा आएका युवा हुन् । उनी उम्मेदवारी दर्ताको केही समयअघि रास्वपा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए ।  उता, रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टी नेपालले पतिराम चौधरीलाई उम्मेदवार बनाएको छ । कैलाली- १ बाट उम्मेदवारी दिएपनि रेशमको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । अहिले क्षेत्र नं. २ मा पतिरामलाई जिताउन उनी लागि परेका छन् ।

अघिल्ला निर्वाचनका परिणाम
२०७४ सालको निर्वाचनमा नेकपा एमालेका झपटबहादुर रावल २५ हजार १५७ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिंह राठौर थिए। २०७९ सालको निर्वाचनमा भने नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतसहित निर्वाचित भएका थिए । सो निर्वाचनमा एमालेका झपटबहादुर रावल १६ हजार १२८ मतसहित दोस्रो स्थानमा रहे ।

साझा एजेन्डा : डुडेझारी औद्योगिक क्षेत्र
यस क्षेत्रका मतदाताको साझा मुद्दाका रूपमा वर्षौंदेखि अलपत्र परेको डुडेझारी औद्योगिक क्षेत्र निर्माणको विषय अगाडि आएको छ । लम्कीचुहा नगरपालिका–३ मा प्रस्तावित १ हजार ९३ बिघा क्षेत्रफलमा फैलिएको उक्त औद्योगिक क्षेत्र २०७५ सालदेखि अघि नबढ्दा स्थानीयमा असन्तुष्टि छ । प्रारम्भिक अध्ययनअनुसार त्यहाँ ३ सय १७ उद्योग स्थापना हुन सक्ने सम्भावना रहेको बताइएको छ । स्थानीयले युवा स्वरोजगार, कृषि आधुनिकीकरण, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार र सडक पूर्वाधार विकासलाई पनि प्राथमिक मागका रूपमा उठाइरहेका छन् ।

नागरिक अगुवा तथा स्थानीय व्यापारीहरुले औद्योगिक क्षेत्र स्थापना नै मुख्य सवाल भएको उल्लेख गर्दै सुशासन र भ्रष्टाचार अन्त्य अपरिहार्य रहेको बताएका छन् । डुडेझारी औद्योगिक क्षेत्र, सरकारी शिक्षामा गुणस्तर सुधार, स्वरोजगार प्रवर्द्धन र चिसापानी–कुइने सडक विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा मतदाताको छ ।

दलहरूका एजेन्डा
एमालेका सूर्यबहादुर थापा, कांग्रेसका विजयबहादुर स्वाँर र नेकपाका नन्दबहादुर साउँद संगठनका हिसाबले बलिया मानिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले भ्रष्टाचार नियन्त्रण, सुशासन र युवा रोजगारीलाई मुख्य मुद्दा बनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरी थारु समुदायको उल्लेख्य उपस्थितिका कारण प्रभावशाली प्रतिस्पर्धीका रूपमा हेरिएका छन्।

चिसापानीदेखि लम्की हुँदै पहाडी क्षेत्र मोहन्यालसम्म फैलिएको कैलाली–२ मा पुराना दल र नयाँ शक्तिबीच प्रतिस्पर्धा चर्किँदै गएको छ। विकास, रोजगारी, औद्योगिकीकरण र सुशासन यसपटकका केन्द्रीय बहस बनेका छन् । मतदाताको निर्णायक मतले यस क्षेत्रको राजनीतिक दिशा मात्र होइन,  डुडेझारी औद्योगिक क्षेत्रजस्ता दीर्घकालीन परियोजनाको भविष्यसमेत तय गर्नेछ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार