Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ललितपुरमा १मा विरासत फर्काउने एमाले-कांग्रेसको रणनीति, रास्वपाको जित्ने विश्वास, मतदाता खोज्दैछन् विकास

ललितपुर । ललितपुरमा तीन वटा निर्वाचन क्षेत्र छन् । तीन निर्वाचन क्षेत्रमध्ये भूगोलका हिसाबले सबैभन्दा ठूलो क्षेत्र ललितपुर–१ हो । दक्षिण ललितपुरका प्रायः सबै पहाडी भूभाग समेटिएको यो क्षेत्र भौगोलिक रूपमा विकट मात्र होइन, विकासका दृष्टिले पनि चुनौतीपूर्ण मानिन्छ । यस पटक क्षेत्र नम्बर १ चारपक्षीय प्रतिस्पर्धाको केन्द्रमा छ । कांग्रेस आफ्नो विरासत जोगाउने प्रयासमा छ भने एमाले र नेकपा पुरानो आधार फर्काउने रणनीतिमा छन् । रास्वपा भने नयाँ शक्ति साबित गर्दै इतिहास रच्ने दाउमा देखिन्छ ।

कस्तो छ यो क्षेत्र ?
यो क्षेत्र काठमाडौं उपत्यकाभित्रै भए पनि भौगोलिक हिसाबले कठिन छ । महांकाल,  बागमती र कोञ्ज्योसोम गाउँपालिका तथा गोदावरी नगरपालिकाका अधिकांश वडा समेटिएको यो क्षेत्र हरिसिद्धिदेखि मकवानपुर र काभ्रेसम्म फैलिएको छ । सहरी बस्ती, अर्धसहरी बजार र दुर्गम पहाडी गाउँ एउटै निर्वाचन क्षेत्रमा पर्छन् । सहरी क्षेत्रमा बजार, शिक्षा र स्वास्थ्य सेवा तुलनात्मक रूपमा सहज छ । तर दक्षिण ललितपुरका पहाडी बस्तीमा कच्ची सडक, पहिरोको जोखिम, खानेपानी अभाव र सिँचाइको समस्या अझै गम्भीर छ ।

कतिपय ठाउँमा बिजुलीका पोल छैनन्, रुखमा तार टाँगिएको छ । वर्षायाममा यातायात अवरुद्ध हुँदा विद्यार्थी र बिरामी सबै प्रभावित हुन्छन्। युवा जनशक्ति ठूलो संख्यामा वैदेशिक रोजगारीमा छ। खेतबारी बाँझो छाडिएको छ। कृषि सम्भावना हुँदाहुँदै सिँचाइ, भण्डारण र बजार पहुँचको कमीले किसान निराश छन्। यही पृष्ठभूमिमा चुनावी प्रतिस्पर्धा हुँदैछ। र, उम्मेदवारले यसैलाई चुनावी एजेन्डा बनाएका छन् ।

कांग्रेसको निरन्तरताको खोजी
यस क्षेत्रमा उदयशमशेर राणा पुनः उम्मेदवार बनेका छन् । ६४ सालयता भएका प्रत्येक संसदीय निर्वाचनमा उम्मेदवार बनेका उनी पाँचौँ पटक संसदीय चुनावमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।  उनले २०७० मा जितेका थिए भने २०७४ मा हार बेहोरे । र, २०७९ मा पुनः जित निकालेका उनले तेस्रो जितको खोजी गरिरहेका छन्। नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका राणाले आफूलाई युवा सुधारवादी धारको प्रतिनिधि भनेर प्रस्तुत गरेका छन् । पार्टीभित्र परिवर्तनको आवाज उठाएको दाबी गर्दै उनले विकास र नीति–निर्माणमा निरन्तरताको पक्षमा मत मागिरहेका छन्। कांग्रेसको बल स्थानीय संगठन र अघिल्लो जितको मनोवैज्ञानिक प्रभाव हो। तर ग्रामीण भेगमा अधुरा पूर्वाधार र असन्तुष्ट मतदाताको प्रश्न उनलाई घेरिरहेको छ।

एमालेको आधार पुनःस्थापनाको प्रयास
नेकपा एमालेले चेतनाथ सञ्जेललाई अघि सारेको छ। पूर्व प्रदेशसभा सदस्य सञ्जेल विकास निर्माण, पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणलाई मुख्य एजेन्डा बनाइरहेका छन् । २०७४ सालमा एमालेका नवराज सिलवालले यहाँ जित निकालेका थिए। त्यस आधारलाई पुनर्जीवित गर्ने लक्ष्य एमालेको छ । गोदावरी सनराइज हल पुनर्निर्माणदेखि भट्टेडाँडा क्षेत्रमा सम्भावित विमानस्थल अध्ययनसम्मका एजेन्डा एमालेले अघि सारेको छ । एमालेको चुनौती भनेको ग्रामीण असन्तोषलाई संगठित मतमा रूपान्तरण गर्नु हो ।

नेकपाको ०६४ को स्मृति
वाम एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सुनील महर्जनलाई उम्मेदवार बनाएको छ। २०६४ मा यस क्षेत्रमा तत्कालीन माओवादीका वर्षमान पुन विजयी भएका थिए। त्यही ऐतिहासिक आधारलाई पुनर्जीवित गर्ने रणनीतिमा नेकपा छ। महर्जनले शिक्षा डिजिटल रूपान्तरण, स्वास्थ्य पहुँच विस्तार र कृषिको आधुनिकीकरणलाई जोड दिएका छन्। वाम मत एकीकृत रूपमा खस्न सके कांग्रेस र एमाले दुवैलाई चुनौती दिन सक्ने सम्भावना छ।

रास्वपाको ‘नयाँ राजनीति’
राष्ट्रिय स्वतन्त्र पार्टीले बुद्धरत्न महर्जनलाई उम्मेदवार बनाएको छ । जेन–जी आन्दोलनपछि विकसित असन्तोषलाई आधार बनाएर रास्वपा पारदर्शिता र सुशासनको नारा दिइरहेको छ । रास्वपाको चुनौती संगठन विस्तार र ग्रामीण पहुँच हो । शहरी युवामा प्रभाव देखिए पनि दुर्गम बस्तीमा पार्टी संरचना कमजोर छ । तर यदि असन्तुष्ट मतदाताले निर्णायक मोड लियो भने रास्वपा ‘किङमेकर’ मात्र होइन, प्रत्यक्ष प्रतिस्पर्धी बन्न सक्छ ।

अंकगणित र मनोविज्ञान
७७ हजार ७ सय ३७ मतदाता, ५३ मतदानस्थल र एक सय मतदान केन्द्र रहेको यो क्षेत्रमा २८ उम्मेदवार छन् । महिला उम्मेदवार तीन जना मात्र छन् । ललितपुर–१ को चुनाव परिणाम केवल पार्टीगत अंकगणितमा निर्भर छैन । यहाँ भूगोल, पहुँच र स्थानीय सम्बन्धले ठूलो भूमिका खेल्छ । गोदामचौर, लेले, टीकाभैरव, चापागाँउ, भट्टेडाँडा जस्ता ठाउँका मतदाताको प्राथमिकता फरक–फरक छ । सहरी मतदाता विकासको गुणस्तर र सेवा सुधार खोजिरहेका छन्। ग्रामीण मतदाता आधारभूत सडक, सिँचाइ र स्वास्थ्य सेवा मागिरहेका छन्।

चुनाव आउन अब केही दिन मात्रै बाँकी छ । यदि कांग्रेसले आफ्नो परम्परागत आधार जोगायो भने उदयशमशेरलाई फाइदा पुग्न सक्छ। एमालेले २०७४ को मत आधार पुनःएकीकृत गर्न सके कडा प्रतिस्पर्धा हुन सक्छ। नेकपाले वाम मत सघन रूपमा सार्न सके समीकरण फेरिन सक्छ। रास्वपाले असन्तुष्ट र युवा मत समेट्न सके अप्रत्याशित परिणाम सम्भव छ। हुन त यो पटक यो चुनाव केवल व्यक्तिको जित–हार होइन, विकास मोडेलको छनोट पनि हो। पहाडी विकटता र शहरी अपेक्षाबीचको दूरी कसले घटाउने भन्ने प्रश्नमा मतदाताले निर्णय गर्नेछन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार