Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ललितपुर–३ को रोचक भिडन्त: पुराना दलको घेराबन्दीबीच तोसिमाको परीक्षा, उज्यालो नेपालको के होला ?

ललितपुर । बागमती प्रदेशअन्तर्गत पर्ने ललितपुर–३ यस पटक पनि उच्च चासोको केन्द्रमा छ । मुख्य कारण हुन् निवर्तमान सांसद तोषिमा कार्की, जो राष्ट्रिय स्वतन्त्र पार्टी बाट पुनः प्रतिस्पर्धामा छिन् । २०७९ मा ठूलो मतान्तरले जितेकी उनी यस पटक पनि अग्रपंक्तिमा रहेको आकलन गरिएको छ ।

क्षेत्रको संरचना र मतदाता
यस क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा १–५, १०, १३, १४, १५, १८ र २०–२९ तथा गोदावरी नगरपालिकाका वडा १२ र १४ पर्छन् । निर्वाचन आयोगका अनुसार यहाँ १ लाख २ हजार ४३७ मतदाता छन् । ११४ मतदान केन्द्र तोकिएका छन् ।

२०७९ को परिणाम
२०७९ को निर्वाचनमा तोसिमा कार्कीले ३१ हजार १३६ मत ल्याएर जित हासिल गरेकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाएका थिए। गठबन्धनकी उम्मेदवार पम्फा भुसालले ८ हजार ७६९ मत ल्याएकी थिइन् । समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बनेको थियो । उसले १६ हजार ६५० मत पाउँदा एमालेले १२ हजार २९७, राप्रपाले ८ हजार ७८९,  नेपाली कांग्रेसले ८ हजार २४७ र माओवादीले ६ हजार ५३१ मत पाएका थिए।

२०८२ का मुख्य उम्मेदवार
रास्वपा – तोसिमा कार्की  
एमाले – सन्दन थापा मगर
कांग्रेस – जितेन्द्रकुमार श्रेष्ठ  
नेकपा – राजकाजी महर्जन
राप्रपा – सविनकुमार खड्का
उज्यालो नेपाल पार्टी – डा. विजय पन्त
कुल २० उम्मेदवार मैदानमा छन्, जसमा पाँच स्वतन्त्र पनि छन् ।

प्रतिस्पर्धाको अवस्था
गत निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा पनि तोसिमालाई चुनौती दिन सकेनन् । यस पटक दलहरू अलग अलग प्रतिस्पर्धामा छन्, जसले तोसिमालाई फाइदा पुग्ने विश्लेषण गरिएको छ । तर केही मतदाताले भदौ २३–२४ को आन्दोलनमा उनको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । त्यो विषय चुनावी बहसमा कति प्रभावकारी हुन्छ भन्ने हेर्न बाँकी छ ।

कांग्रेसले जिल्ला नेतृत्वलाई अघि सारेको छ । जितेन्द्र श्रेष्ठ यसअघि प्रदेशसभा चुनाव लडेका अनुभव भएका नेता हुन् । एमालेले नयाँ अनुहार सन्दन थापा मगरलाई अघि सारेको छ । उनी स्थानीय भए पनि पहिलोपटक प्रतिनिधिसभा चुनाव लड्दै छन् ।

नेकपाका राजकाजी महर्जन स्थानीय तहमा परिचित नाम हुन् । उनी २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। जातीय र स्थानीय मत समेट्ने उनको प्रयास रहने देखिन्छ ।

राप्रपा र उज्यालो नेपालका उम्मेदवारलाई पनि ‘कट फ्याक्टर’का रूपमा हेरिएको छ, विशेष गरी शहरी मतदातामाझ । २०७९ मा १८ हजारभन्दा बढी मतान्तरले जितेको आधार तोसिमाका लागि मनोवैज्ञानिक बल हो । समानुपातिक मत परिणामले पनि रास्वपाको आधार देखाएको थियो । तर यस पटक कांग्रेस र एमाले दुवैले अलग अलग बलियो सांगठनिक अभियान चलाए भने प्रतिस्पर्धा केही कडा हुन सक्छ । शहरी, शिक्षित र मध्यमवर्गीय मतदाता बढी रहेको यस क्षेत्रमा सुशासन, स्वास्थ्य, शिक्षा र सहरी पूर्वाधार मुख्य एजेन्डा बन्ने सम्भावना छ । समग्रमा हेर्दा तोसिमा कार्की अग्रस्थानमा देखिए पनि कांग्रेस र एमालेको मत एकताबद्ध भयो वा कुनै मुद्दाले मतदाताको मनोविज्ञान फेरियो भने परिणाम अपेक्षाभन्दा फरक पनि हुन सक्छ। यही अनिश्चितताले ललितपुर–३ लाई यस पटक पनि रोचक बनाएको छ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार