NL न्यूज
काठमाडौं । काठमाडौंको निर्वाच क्षेत्र नम्बर १० त्यस्तो क्षेत्र हो जहाँ माओवादी रापतापका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपटक जितेको र अर्को पटक हारेको इतिहास छ । जहाँबाट राजेन्द्रकुमार केसी ले ‘ह्याट्रिक’ गरे । त्यहीँ अहिले शून्यबाट सुरु भएको जस्तो चुनावी समीकरण बनेको छ । ८३ हजार ३०१ मतदाता रहेको यो क्षेत्रमा यसपटक मुख्य प्रतिस्पर्धा विरासत जोगाउने र भत्काउनेबीच हुँदैछ । त्यसैले यो क्षेत्र यस पटक फेरि राष्ट्रिय चासोको केन्द्रमा छ ।
विरासतको अन्त्य, नयाँ अध्यायको सुरुवात
२०६४ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहाँबाट जित निकालेका थिए । तर २०७० मा नतिजा उल्टियो । केसीले प्रचण्डलाई हराउँदै राष्ट्रिय चर्चा कमाए । त्यसपछि २०७४ र २०७९ सम्म कांग्रेसले निरन्तर जित निकाल्यो । तर यस पटक केसीले स्वेच्छाले चुनाव नलड्ने निर्णय लिए। पुस्तान्तरणको सन्देशसहित उनले बाटो खाली गरेपछि कांग्रेसले हिमाल कार्कीलाई अघि सारेको छ। कार्की स्थानीय तहमा काम गरेको अनुभव बोकेका नेता हुन् । कीर्तिपुरमा वडाध्यक्ष भइसकेका उनी संगठनभित्र सक्रिय भए पनि संसदीय चुनावमा पहिलोपटक भाग लिँदैछन् । २०७९ को समानुपातिक मतमा कांग्रेस पहिलो थियो । यद्यपि प्रत्यक्षतर्फ मत घटेको संकेतले पार्टीलाई सतर्क बनाएको छ ।
एमालेको नयाँ दाउ
नेकपा एमालेले पनि यस पटक नयाँ अनुहार रोजेको छ । ट्रेड युनियन आन्दोलनबाट आएका विनोद श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। मजदुर पृष्ठभूमि, नेवार समुदायसँगको सम्बन्ध र संगठन क्षमतामा एमालेले भरोसा गरेको देखिन्छ। २०७९ मा एमाले दोस्रो भएको थियो, तर मतान्तर ठूलो थिएन। कांग्रेसको मत घट्दै गएको र रास्वपाले केही असन्तुष्ट मत तानेको सन्दर्भमा एमालेले आफूलाई स्थिर विकल्पका रूपमा प्रस्तुत गर्न खोजेको छ।
रास्वपाको विस्तारको प्रयास
२०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेर सबैलाई चकित बनाएको थियो । भर्खर खुलेको दलले समानुपातिकतर्फ त दोस्रो स्थानमा पुग्नु पार्टीका लागि ठूलो उपलब्धि थियो। त्यही आधारमा प्रदीप विष्टलाई फेरि अघि सारिएको छ। रास्वपाको राजनीति पुराना दलप्रतिको असन्तुष्टिमा टेकेको छ। युवा मतदाता, शहरी मध्यमवर्ग र ‘नयाँ प्रयोग’ चाहने समूह यसका आधार मानिन्छन्। भदौ २३–२४ को जेनजी आन्दोलनपछि विकसित राजनीतिक असन्तोषलाई पनि पार्टीले अवसरका रूपमा हेरेको छ। तर २०७९ मा पाएको करिब नौ हजार मतलाई विस्तार नगरेसम्म जित सम्भव छैन। कांग्रेस र एमालेका स्थानीय संगठन बलिया छन्। त्यसैले रास्वपाका लागि यो चुनाव अस्तित्व विस्तारको परीक्षा हो।
एकीकृत वामको गणित
यस पटक माओवादी र एकीकृत समाजवादीसहितका घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले रूपा महर्जनलाई उम्मेदवार बनाएको छ। पूर्व संविधानसभा सदस्य महर्जन स्थानीयस्तरमा परिचित अनुहार हुन्। विगतमा वाम मत विभाजित हुँदा कांग्रेसले लाभ उठाएको थियो। यदि वाम मत एकीकृत रूपमा सार्न सके कांग्रेसलाई चुनौती दिन सक्ने सम्भावना छ। तर मतदाताले एकीकरणलाई कति विश्वास गर्छन् भन्ने प्रश्न खुलै छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी का बलराम थापा, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलगायत साना दलहरू पनि मैदानमा छन्। अघिल्ला चुनावमा उनीहरूको मत प्रतिशत सानो भए पनि कडा प्रतिस्पर्धामा निर्णायक हुन सक्छ। यहाँ १० जना स्वतन्त्र उम्मेदवारसहित २५ जना उम्मेदवार मैदानमा छन् । उनीहरू स्थानीय असन्तोष, विकासको ढिलाइ र केन्द्रीय राजनीतिक बेवास्तालाई मुद्दा बनाइरहेका छन्।
भूगोल, जनसंख्या र मनोविज्ञान
काठमाडौं–१० भूगोलका हिसाबले ठूलो क्षेत्र हो। दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि तीन नगरपालिकामा फैलिएको यो क्षेत्र बसाइँसराइका कारण अत्यन्त विविध छ। ८३ हजारभन्दा बढी मतदाता छन्, जसमा महिला मतदाता ५१ प्रतिशतभन्दा बढी छन्। महिला उम्मेदवार भने सीमित छन्। यसले प्रतिनिधित्वको बहस पनि जन्माएको छ। कीर्तिपुर यस क्षेत्रको निर्णायक केन्द्र मानिन्छ। ऐतिहासिक रूपमा यहाँको मतदाता कहिले स्थिरता त कहिले नयाँ प्रयोगतर्फ झुकेको देखिन्छ। अन्तिम समयमा निर्णय गर्ने मतदाताको संख्या उल्लेख्य भएकाले चुनावी परिणाम पूर्वानुमान गर्न कठिन छ।
मुख्य एजेन्डा के?
स्थानीय उम्मेदवारहरूको उपस्थितिले विकास एजेन्डा केन्द्रमा आएको छ। सडक, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र सामाजिक सुरक्षा मुख्य मुद्दा बनेका छन्। कांग्रेस निरन्तरताको सन्देश दिँदैछ। एमाले स्थायित्व र श्रमजीवी प्रतिनिधित्वको कुरा गरिरहेको छ। रास्वपा प्रणाली सुधार र भ्रष्टाचारविरोधी अभियानलाई जोड दिइरहेको छ। वाम एकीकृत समूह युवा नेतृत्व र वैकल्पिक नीतिको बहस उठाइरहेको छ।
यदि कांग्रेसको परम्परागत मत सुरक्षित रह्यो भने हिमाल कार्कीलाई फाइदा पुग्न सक्छ। एमालेले असन्तुष्ट मत समेट्न सके कडा प्रतिस्पर्धा हुन सक्छ। रास्वपाले युवा र मध्यमवर्गीय मत बढाउन सके त्रिकोणीय भिडन्त सम्भव छ। वाम एकीकरण सफल भए मत गणित फेरिन सक्छ। तर त्यो व्यवहारमा कति रूपान्तरण हुन्छ भन्ने अझै अनिश्चित छ। काठमाडौं–१० ले विगतमा पटक–पटक अप्रत्याशित नतिजा दिएको छ। यस पटक पनि परिणाम अन्तिम हप्ताको माहोल, गठबन्धनको प्रभाव र मतदाताको मनोविज्ञानमा निर्भर रहने देखिन्छ।०००





प्रतिक्रिया दिनुहोस्