Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि लामिछानेको चुनौती, 'मलाई संसद्बाट निकाल्यौ, अब जनताको मनबाट निकालेर देखाऊ !'

दाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट हटाइए पनि जनताको मनबाट हटाउन कसैले नसक्ने बताएका छन्। शुक्रबार घोराहीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक यात्रामाथि भएको कदमलाई ‘षड्यन्त्र’को संज्ञा दिए।

घोराही पर्ने दाङ क्षेत्र नम्बर–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन्। त्यही क्षेत्रमा उभिएर लामिछानेले सत्तारूढ शक्तिप्रति कडा सन्देश दिए।

उनले रास्वपा सुशासन र जनताको पक्षमा दृढतापूर्वक उभिने पार्टी भएको दोहोर्याए। आफू सरकारमा रहेर भ्रष्टाचारविरुद्ध फाइल खोल्न थालेकै बेला योजनाबद्ध रूपमा हटाइएको आरोप उनको थियो। “हामी सुशासनका पक्षमा काम गरिरहेका थियौं। भ्रष्टाचारका फाइल खोल्न थालेपछि मलाई संसद्बाट निकालियो, जेल पुर्‍याइयो,” उनले भने, “संसद्बाट हटाउनुभयो, अब जनताको मनबाट हटाएर देखाउनुहोस्।”

लामिछानेले केही नेताप्रति संकेत गर्दै आफूलाई मध्यरातमा प्रहरी परिचालन गरेर पक्राउ गरिएको प्रसंग स्मरण गरे। सुशासनको मुद्दामा सम्झौता नगर्ने अडान दोहोर्याउँदै उनले आगामी फागुन २१ को निर्वाचनलाई निर्णायक मोडका रूपमा प्रस्तुत गरे। “जसले मलाई जेल पठाए, जनताले नै उनीहरूलाई जवाफ दिनेछन्,” उनले भने।

सभामा सहभागी समर्थकहरूले सुशासन र परिवर्तनका नारासहित समर्थन जनाएका थिए। लामिछानेले आफ्नो मुद्दा व्यक्तिगत नभई प्रणाली सुधारको भएको दाबी गर्दै जनमत नै अन्तिम निर्णायक हुने बताए। रास्वपाले यसपटक दाङमा चुनावी प्रतिस्पर्धालाई प्रतिष्ठाको विषय बनाएको छ। घोराहीको सभाबाट लामिछानेले दिएको सन्देश स्पष्ट थियो—राजनीतिक संघर्ष अब सडक र संसद्को मात्र होइन, जनताको विश्वासको परीक्षा हो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार