Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टिप्पणी

जे पनि विदेशी हस्तक्षेप देख्ने दलहरूको घोषणापत्रमा परराष्ट्र नीतिबारे के छ ?

काठमाडौं । निर्वाचनमा भाग लिन तयार राजनीतिक दलहरुले विभिन्न नाम दिंदै आ-आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । कांग्रेसले प्रतिज्ञापत्र, एमालेले घोषणापत्र, रास्वपाले वाचापत्रका नाममा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । नाम जे दिएपनि यी घोषणापत्रमा विदेश नीति कसरी समेटेका छन् त ? यसपटक केही दलले विदेशी हस्तक्षेपका कारण अहिलेको परिस्थित निम्तिएको बताइरहँदा उनीहरुले छिमेकी तथा मित्र राष्ट्रलाई हेर्ने दृष्टिकोण कस्तो बनाएका छन् ?

कांग्रेसको प्रतिज्ञापत्र
कांग्रेसले १० बुँदामा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । उसले चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्र भनेको छ । बुँदा नम्बर ९ मा कांग्रेसले विदेशी नीति कस्तो हुनुपर्छ भन्ने प्रसंग समेटेको छ । विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल शीर्षकमा कांग्रेसले आफ्नो सरकारका पालमा कस्तो बाह्य नीति अपनाउने उल्लेख गरेको छ ।

कांग्रेसले विदेश नीतिलाई कसरी हेर्छ ? :
-नेपाल विश्व समुदायमाझ एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रको रुपमा स्थापित हुने
-नेपालको परराष्ट्र नीति राष्ट्रियहित र सार्वभौमिक समानताको जगमा उभिने 
-छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुने
-ति सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अघि बढाइने
-नेपाललाई विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रुपमा चिनाउँने
-नेपालको राहदानीलाई सम्मानित बनाउँदै गर्व गर्न लायक बनाउने
कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा विदेशी हस्तक्षेप वा विभिन्न नाममा आलोचना गरेको छैन । नेपालको पञ्चशीलको सिद्धान्तलाई नै प्राथिमकतामा राखेको छ ।

एमालेको घोषणापत्र
एमालेले चुनावी घोषणापत्रको प्रस्तावना मै वाह्य हस्तक्षेपको संकेत गरेको छ । भदौ २३-२४ को जेनजी आन्दोलनलाई नै वैदेशिक चलखेल मानेको एमालेले सार्वभौमिकतालाई प्रथमिकतामा राख्ने बताएको छ । उसले नयाँ शक्तिका रुपमा आएका दलहरुलाई सम्म विदेशीको इशारामा चलेको आरोपसम्म लगाउने आशय देखाएको छ ।

विदेश नीतिबारे एमालेको घोषणापत्रमा के छ त ?
बुँदा नं. ५ मा एमालेले विदेश नीतिबारे बोलेको छ । मैत्रीपूर्ण विदेश सम्बन्ध शीर्षकमा एमालेले केही अवधारणा राखेको छ ।
१. छिमेकी राष्ट्रहरुसँग सधैं इमानदारीका साथ मित्रताको सम्बन्ध
२. देशभित्र र विश्वमा न्यायको राज र शान्ति कायम
३. कुनैपनि प्रकारको सैन्य गठजोड, हातहतियारको दौड र युद्धले धरतीको सुरक्षामा योगदान नपुर्‍याउने
४. स्वतन्त्र, तटस्थ न्याय र विश्व शान्तीमा आधारित असंलग्न वैदेशिक नीति र परराष्ट्र सम्बन्ध कायममा जोड
आफ्नो घोषणापत्रमा यसपटक एमालेले वैदेशिक हस्तक्षेपलाई धेरै स्थानमा लक्षित गरेको छ । उसले स्वाधिनता, सार्वभौमिकताका कुरा धेरै ठाउँमा उल्लेख गरेको छ । तर, पनि असंलग्न परराष्ट्र नीतिलाई प्राथमिकतामा राखेको छ ।

रास्वपाका वाचापत्र
चुनावी दौडमा रहेको अर्को मुख्य दल रास्वपाले आफ्नो विदेश नीतिलाई अर्थ-राजनीतिसँग जोड्न खोजेको छ । रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार नाम दिएर रास्वपाले आफ्नो वाचापत्र सार्वजनिक गरेको हो ।
विदेश नीतिबारे रास्वपाको धारणा के छ त ?
बुँदा नम्बर ९६ देखि ९८ सम्म आफ्ना विदेश नीतिबारे रास्वपाले वाचा गरेको छ । बुँदागत हेरौं रास्वपाका वाचापत्रमा विदेश नीति :
१. सन्तुलित र गतिशिल कुटनीति
२. नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट स्टेटमा रुपान्तरण गर्ने
३. त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीमा जोड
४. भारतसँग डिजिटल पब्लिक पूर्वाधार, गुणस्तरीय भौतिक पूर्वाधार, अर्थतन्त्रको औपचारिकीकरण, उत्पादनमुलक उद्योग र सेवाक्षेत्रबीच सामन्जस्य सहकार्य
५. चीनसँग सहुलियत वित्तको परिचालनमार्फत विश्वस्तरीय पूर्वाधार निर्माण, आर्थिक-सामाजिक विकासका लागि राज्य निर्देशित लक्ष्य र कार्यक्रम
६. सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई उत्कृष्ट बनाउँदै क्रस-वोर्डर अपराधलाई शून्यमा झार्ने
७. कुटनीतिक क्षेत्रलाई क्षमता विकास गर्ने, आर्थिक कुटनीतिमा जोड

रास्वपाले महत्वकांक्षी योजनाहरु अघि सारेको छ । तर, यो असम्भव चाँही होइन र यति काम गरे नेपालको बृहत्तर विकास अघि बढ्नसक्छ ।
अहिलेसम्म चुनावी घोषणापत्र जस्तो आएपनि कार्यान्वयनमा दलहरु निकै कमजोर देखिने गरेकाले आम नागरिकले पत्याउने गरेका छैनन् ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार