Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रास्वपाले प्रस्तुत गर्‍यो ‘नीतिगत प्रस्थानका १०० आधार’ सहितको चुनावी बाचापत्र

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सुर्खेतमा आयोजित विशेष समारोहमा चुनावी बाचापत्र सार्वजनिक गरेको छ। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरूले संयुक्त रूपमा बाचापत्र सार्वजनिक गरेका हुन्।

रास्वपाले फागुन २१ पछिको सरकार र आगामी बजेटको स्पष्ट खाका प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र र सुशासनमा आमूल परिवर्तन गर्ने उद्घोष गरेको छ। उपसभापति वाग्लेले अबको ५–७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर (१०० खर्ब रुपैयाँभन्दा माथि) पुर्‍याउने महत्वाकांक्षी योजना प्रस्तुत गरे।

डा. वाग्लेले भने, “हामीले फागुन ३ गते नागरिकसँगको करारपत्र मार्फत हाम्रा लक्ष्यहरू सार्वजनिक गरिसकेका थियौं। आज नीतिगत प्रस्थानका १०० आधारहरू पेश गरेका छौं। अब बन्ने सरकारले यिनै आधारमा टेकेर जेठ १५ को बजेट र नीति तथा कार्यक्रम ल्याउनेछ।”

पार्टीले अर्थतन्त्र उकास्न ‘मिशन मोड’ मा काम गर्ने योजना सार्वजनिक गरेको छ। बाचापत्रअनुसार, स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र ५–७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य राखिएको छ। वाग्लेले भने, “विश्व बैंकको मापदण्ड अनुसार हामी अहिले निम्न आय भएको मुलुकमा छौं, अबको ५ वर्षमा सम्मानजनक मध्यम आयको स्तरमा पुग्नेछौं।”

बाचापत्रमा सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको छ। सरकारी सेवामा ‘लाइन होइन अनलाइन’ अवधारणा लागू गर्ने, न्याय सुधारमा मेरिटोक्रेसी (योग्यतातन्त्र) स्थापना गर्ने र दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धता रास्वपाले जनाएको छ। आर्थिक फड्को मार्न बाधक रहेका दर्जनौं ऐन र नियमावलीहरू खारेज गरेर निजी क्षेत्रको लगानी वातावरण सहज बनाउने योजना पनि उल्लेख छ।

उपसभापति वाग्लेले काठमाडौं महानगरपालिकामा स्वतन्त्र रूपमा जितेर स्थापित सत्तालाई चुनौती दिएका बालेन शाह अहिले रास्वपाको वरिष्ठ नेताका रूपमा जोडिँदा पुस्तान्तरणको राजनीति नयाँ चरणमा प्रवेश गरेको बताए। रास्वपाले कृषि, पर्यटन, जलविद्युत र सूचना प्रविधि (आईटी) लाई अर्थतन्त्रका मुख्य खम्बा मान्दै कर्णालीका डाँडाकाँडा र फाँटहरूमा आर्थिक क्रान्ति ल्याउने योजना पनि प्रस्तुत गरेको छ। निजी क्षेत्रलाई ‘सरकारको ढोका चहार्नुपर्ने अवस्थाको अन्त्य’ गरी सिधै दैलोमा सरकारी सेवा पुग्ने प्रत्याभूति दिइएको छ।

अन्त्यमा पार्टीले अस्थिर राजनीतिको अन्त्य र सुशासनका लागि यसपटक घण्टी चुनाव चिह्नमा मतदान गरी स्पष्ट बहुमत दिन आम मतदातालाई आह्वान गरेको छ। नेताहरूले भने, “खुद्रा सुधारले मात्र नपुग्ने भएकाले राजकाजको जहाजलाई सही दिशामा मोड्न ५ वर्षको स्थिर सरकार आवश्यक छ।”

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार