NL न्यूज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ का घटनाका सन्दर्भमा चार महत्वपूर्ण प्रश्न उठाउँदै देशमा अस्थिरता निम्त्याउन कतिपय देशी–विदेशी शक्तिहरूले भूमिका खेलेको आरोप लगाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रतिनिधिसभा निर्वाचन–२०८२ को घोषणापत्र सार्वजनिक गर्दै उनले भने– “देश बनाउने र भत्काउने बीचको द्वन्द्वमा देश फेरि प्रयोगशालामा बनाइँदैछ। संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो।”
ओलिले घोषणापत्रमा तत्काल लागू गर्ने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ समावेश रहेको उल्लेख गर्दै स्थिर सरकार, शान्ति–सुव्यवस्था र विकासमा पार्टीको दृढता प्रस्तुत गरे। उनले सबै पुस्ताबीच सहकार्य र युवा–अनुभवी दृष्टिकोणको महत्वमा जोड दिँदै निर्वाचनलाई देश बनाउने वा भत्काउने बीचको जनमत संग्रह भएको बताए।
अध्यक्ष ओलीले निर्वाचनअघि उठाएका चार मुख्य प्रश्न यस प्रकार छन्:
१. भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियो, वा देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश फैलाइँदै थियो?
२. भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो? शान्तिपूर्ण कार्यक्रम सकाएर घर फर्किन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो?
३. भदौ २३ र २४ का घटना स्वतःस्फूर्त थिए कि योजनाबद्ध? निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो, र सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो?
४. सरकार, संविधान र व्यवस्थाको सन्दर्भमा जेनजी प्रदर्शनको कुनै माग थिएन। नभएको माग पूरा गरेझैं प्रणालीमाथि धावा बोल्ने गरी प्रतिनिधिसभा किन विघटन गरियो?
उनले यी र यस्तै प्रश्नहरूको आफूहरूले पनि जवाफ खोजिरहेको बताए।





प्रतिक्रिया दिनुहोस्