Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

फागुन २१ देश बनाउने वा भत्काउने बीचको निर्णायक जनमत भएको ओलीको दावी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रतिनिधिसभा निर्वाचन–२०८२ को घोषणापत्र सार्वजनिक गर्दै लोकतन्त्र र राष्ट्रियताको संरक्षणमा पार्टीको दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कार्यक्रममा पार्टीका पदाधिकारी, आमन्त्रित अतिथि, सञ्चारकर्मी तथा देश–विदेशबाट भर्चुअल माध्यममार्फत् सहभागी सबैलाई स्वागत गर्दै शुभकामना दिएका छन्।

ओलिले भदौ २३–२४ का राजनीतिक घटनापछि देशमा फैलिएको अस्थिरता र अनिश्चयको समीक्षा गर्दै ती घटनाहरु स्वतःस्फूर्त थिए कि योजनाबद्ध, र निजी सम्पत्ति तथा सुरक्षाकर्मीमाथि किन आक्रमण भयो भन्ने प्रश्न उठाएका छन्। उनले स्पष्ट पारे संकट ठूला पार्टीको एकताबाट आएको होइन, तर अस्थिरता फैलाउन र संवैधानिक प्रक्रियालाई अवरुद्ध गर्न निर्मित भएको हो।

अध्यक्ष ओलीले पार्टीको घोषणापत्रमा तत्काल कार्यान्वयन गर्नुपर्ने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ समावेश रहेको बताए। उनले देशको शान्ति, सुव्यवस्था, संविधानको रक्षा र राष्ट्रिय स्वाभिमान पुनः जागृत गर्न एमालेको नेतृत्व र अनुभव आवश्यक भएको बताए।

ओलिले देशलाई उज्ज्वल भविष्यतर्फ अघि बढाउन युवा र अनुभवी पुस्ताबीच सहकार्य आवश्यक रहेको भन्दै भने– “युवा ऊर्जा हो, अनुभव उज्यालो हो, दुवैको मिलनले मात्र देशको भविष्य सुरक्षित हुन्छ।” उनले निर्वाचनलाई पुस्तान्तरको द्वन्द्वको सट्टा देश बनाउने वा भत्काउने बीचको जनमतको अवसर भएको बताए।

अध्यक्ष ओलीले सबै नेपाली जनतालाई संविधानको रक्षा, लोकतन्त्र सुदृढीकरण र राष्ट्रिय स्वाभिमानको पुनःजागरणका लागि आग्रह गर्दै घोषणा गरे– “देश पहिले भन्ने मूल्यको पक्षमा हामी एमालेले दृढताका साथ काम गर्नेछौं।”

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार