Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रजातन्त्र दिवसमा प्रधानमन्त्री कार्कीको अपिल: 'लोकतन्त्रलाई जीवनशैली बनाऔँ'

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले २००७ सालको क्रान्तिले नेपालीलाई रैतीबाट नागरिक बनाएको स्मरण गरेकी छन्। साथै, २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचन सुरु भएको उल्लेख गर्दै उनले फागुन ७ लाई निर्वाचन दिवसका रूपमा पनि महत्वपूर्ण मानेकी छन्।

प्रधानमन्त्रीले लोकतन्त्रलाई व्यवहार र जीवनशैलीका रूपमा संस्थागत गर्न नेतृत्व तहबाट कमजोरी भएको स्वीकार गर्दै अब त्यस नियतिको अन्त्य गर्नुपर्ने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ। पटकपटक आन्दोलन गर्नुपर्यो। अब त्यस नियतिको अन्त्य गर्नैपर्छ। भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ।”

आजको दिनलाई निर्वाचन दिवसका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र ‘समृद्ध नेपाल’ निर्माणका लागि एकजुट हुन आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले प्रजातन्त्र, लोकतन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार