Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एभरेस्ट होटलबाट एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं। नेकपा एमालेले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दै आगामी राजनीतिक दिशाबारे औपचारिक धारणा प्रस्तुत गर्ने भएको छ। प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार कार्यक्रम काठमाडौंस्थित एभरेस्ट होटलमा आयोजना गरिएको छ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली झापाबाट हिजै काठमाडौं आइसकेका छन्। यसपटक एमालेले परम्परागत ठूला चुनावी सभा नगर्ने नीति अवलम्बन गरेको छ। पार्टीले उम्मेदवारहरूलाई सम्बन्धित निर्वाचन क्षेत्रमै केन्द्रित गराउँदै सक्रिय सदस्य र मतदातासँग घरदैलो अभियानमार्फत प्रत्यक्ष संवाद गर्ने रणनीति लिएको जनाएको छ।

पार्टी नेताहरूका अनुसार घोषणापत्रमा ‘भदौ आन्दोलन’लाई देशको अस्तित्व रक्षासँग जोड्दै समृद्ध नेपाल निर्माण, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। यसैबीच, आजै एमाले सचिवालयको अनौपचारिक बैठक पनि बस्ने भएको छ। सबै पदाधिकारी काठमाडौंमा उपस्थित रहेकाले बैठक बोलाइएको प्रचार विभाग प्रमुख शाहीले जानकारी दिएका छन्।

घोषणापत्र सार्वजनिकसँगै एमालेले आगामी राजनीतिक एजेन्डा र चुनावी रणनीति स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार