Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जनकपुरमा गगनको घोषणाः ‘टिम नेपाल’ बनाएर पाँच वर्षमा कुशासन र गरिबी अन्त्य गर्छौं

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टिम नेपाल’ निर्माण गरेर पाँच वर्षभित्र कुशासन र गरिबी हटाउने घोषणा गरेका छन्। सभापति थापाले बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै यो अभियान एकल प्रयासबाट सम्भव नहुने स्पष्ट पारे। “टिम नेपालले पाँच वर्षमा कुशासन र गरिबीलाई हराउँछ। त्यो एक्लैले सम्भव हुँदैन,” उनले भने, “कांग्रेसले आजको समस्या समाधान गर्छ र भोलिको विकासको मार्ग तय गर्छ। हाम्रो शक्ति सबैलाई समेटेर अगाडि बढ्नुमा छ।”

उनका अनुसार ‘टिम नेपाल’ वडादेखि केन्द्रसम्मका सरकार, सबै राजनीतिक दल र विभिन्न क्षेत्रका सरोकारवालाको साझा अभियान हुनेछ। प्रतिज्ञापत्रमा उल्लेखित प्रतिबद्धता सभापतिदेखि क्रियाशील सदस्यसम्मले अक्षरशः पालन गर्ने दाबी उनले गरे।

मधेसलाई ज्ञानको केन्द्र बनाउने प्रतिबद्धता
थापाले मधेस शिक्षा, स्वास्थ्य, विज्ञान र सूचना प्रविधिको नेतृत्व गर्न सक्ने भूमि भएको उल्लेख गर्दै परिवर्तनको सूत्रधार यही क्षेत्र बन्नुपर्ने बताए। “मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। मधेसका शिक्षकले पहाडलाई शिक्षित बनाएका हुन्,” उनले भने।

तर अहिले मधेसकै शिक्षा, स्वास्थ्य र पूर्वाधारको अवस्था जर्जर भएको उनले औंल्याए। किसान, विशेषगरी उखु किसानको समस्या, पर्यावरणीय संकट र खानेपानीको अभाव गम्भीर चुनौतीका रूपमा रहेको भन्दै ती विषय समाधान गर्न आफू मधेस आएको उनले बताए।

विदेशमा रहेका नेपालीका लागि दूतावास विस्तार
थापाले मधेसलाई मात्र होइन, सिङ्गो देशलाई आत्मनिर्भर र समृद्ध बनाउने संकल्प व्यक्त गरे। विदेशमा रहेका नेपालीको हेरचाह राज्यको दायित्व भएको उल्लेख गर्दै जहाँ आवश्यकता पर्छ त्यहाँ दूतावास स्थापना र कर्मचारी व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाए। “मधेस वा देशका जुनसुकै युवा विदेशमा भए पनि उनीहरूको सुरक्षाका लागि सरकारले दूतावास र आवश्यक संरचना तयार गर्छ,” उनले भने।

प्रतिज्ञासभामा थापाले कांग्रेसको भावी राजनीतिक मार्गचित्र ‘साझा शक्ति, साझा जिम्मेवारी’ को अवधारणामा आधारित हुने स्पष्ट पारे। पाँच वर्षभित्र सुशासन, रोजगारी र सेवा–सुविधामा ठोस सुधार ल्याउने उनको दाबी थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार