Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आईसीसी वरियतामा दीपेन्द्र ऐरीको छलाङ, टी–२०आई अलराउन्डरमा चौथो स्थान

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन्। (आईसीसी) ले बुधबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार दीपेन्द्र छैटौं स्थानबाट दुई स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका हुन्। हाल उनको रेटिङ अंक २४४ पुगेको छ, जुन उनको करिअरकै उच्च अंक हो। यसअघि उनको रेटिङ २०२ थियो।

विश्वकप प्रदर्शनको प्रभाव
टी–२० विश्वकपमा गरेको प्रभावशाली प्रदर्शनपछि दीपेन्द्रको वरियता उल्लेखनीय रूपमा सुधारिएको हो। उनले प्रतियोगितामा नेपालका लागि सर्वाधिक १६९ रन बनाएका थिए भने बलिङतर्फ २ विकेट लिए। ब्याट र बल दुवैमा सन्तुलित योगदान दिएका कारण उनको अलराउन्ड प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा उच्च मूल्यांकन पाएको हो।

शीर्ष पाँचमा को–को?
अलराउन्डर वरियताको शीर्ष स्थानमा सायम अयुब (पाकिस्तान) ३०३ रेटिङ अंकसहित उक्लिएका छन्। जिम्बाबेका सिकन्दर राजा २९७ अंकसहित दोस्रो स्थानमा झरेका छन्। तेस्रो स्थानमा भारतका हार्दिक पान्ड्या यथावत् छन्, जसको २८२ अंक छ। पाँचौं स्थानमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ उक्लिएका छन्।

ब्याटिङ वरियतामा पनि सुधार
दीपेन्द्रले ब्याटिङतर्फ पनि उल्लेखनीय सुधार गरेका छन्। उनी ११ स्थान माथि उक्लँदै टी–२०आई ब्याटिङ वरियतामा ६०औं स्थानमा पुगेका छन्। नेपाली क्रिकेटका लागि यो उपलब्धि ऐतिहासिक मानिएको छ। विश्व क्रिकेटमा प्रतिस्पर्धी राष्ट्रहरूका स्टार खेलाडीसँगै शीर्ष पाँचमा स्थान बनाउनु नेपाली क्रिकेटको उदीयमान उपस्थितिको संकेतका रूपमा हेरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार