Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पूर्वराजा ज्ञानेन्द्रको सन्देश: “खराब पक्ष फालेर उपयुक्त व्यवस्था अपनाऔँ”

काठमाडौं । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह ले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले देश अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनतर्फ जानु उचित नहुने धारणा राखेका छन्।

पूर्वराजा शाहले जुनसुकै व्यवस्थाका राम्रा पक्ष ग्रहण गर्नुपर्ने तर खराब पक्ष त्याग्नुपर्नेमा जोड दिए। “कुनै व्यवस्थाका असल पक्षहरू टिपेर राख्नुपर्छ, तर नराम्रा र खराब पक्षहरू फाल्नुपर्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्। देशको भू–बनोट र सामाजिक प्रकृतिअनुसारको व्यवस्था मात्र प्रभावकारी हुने उनको जिकिर छ।

चुनावअघि राष्ट्रिय सहमति आवश्यक
प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि वर्तमान विषम परिस्थितिमा चुनावको औचित्यमाथि उनले प्रश्न उठाएका छन्। उनका अनुसार आम जनभावना चुनावभन्दा पहिले राष्ट्रिय संकट समाधानमा केन्द्रित हुनुपर्ने देखिन्छ। “पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियामा जानु उचित हुन्छ,” उनले भनेका छन्। निर्वाचनपछि द्वन्द्व, अशान्ति वा खिचातानी नहोस् भन्ने सुनिश्चितताका लागि राष्ट्रिय सहमति र सबैलाई समेट्ने समझदारी आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

वर्तमान नेतृत्वप्रति आलोचना
पूर्वराजा शाहले वर्तमान राजनीतिक नेतृत्वको शैलीप्रति कडा टिप्पणी गरेका छन्। ‘आलोपालो र भाग लगाएर खाऔँ’ भन्ने सोचले देश नबन्ने भन्दै उनले अधिकार मात्रै खोज्ने तर कर्तव्यप्रति उदासीन हुने प्रवृत्ति मौलाएको बताएका छन्। उनले देश ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’मा बाँधिएको आरोप लगाउँदै बाह्य प्रभाव वा दबाबमा परेर निर्णय नगर्न राजनीतिक नेतृत्वलाई सचेत गराएका छन्। अरूको भरमा परेर राष्ट्रिय हितमा अडिग नहुने प्रवृत्तिले देशलाई अक्करमा पार्न सक्ने चेतावनीसमेत दिएका छन्।

आन्दोलनको उपलब्धिमाथि आत्मसमीक्षा आवश्यक
विगतका आन्दोलन र संघर्षले देश र जनतालाई वास्तवमा के उपलब्धि दिए भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने समय आएको उनले बताएका छन्। देशको अस्मिता र अस्तित्वमाथि नै संकट महसुस भइरहेको भन्दै एक नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्। झापा बसाइपछि काठमाडौँ फर्कने क्रममा जनताबाट प्राप्त समर्थन र सद्भावले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको बताएका छन्।

शहीदप्रति श्रद्धाञ्जली
प्रजातन्त्र दिवसको सन्दर्भमा उनले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने जिजुबुवा राजा त्रिभुवन र ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। विश्वसामु नेपालीको शिर उच्च हुने व्यवस्थाको आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय एकता र सहमतिमार्फत अघि बढ्न आह्वान गरेका छन्। प्रजातन्त्र दिवस बिहीबार मनाइँदै छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार