Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

केपी ओलीको आग्रह- प्रश्न सोधौं, एमाले रोजौं

काठमाडौं ।  केपी शर्मा ओलीले आफूहरू प्रश्नबाट कहिल्यै नभागेको दाबी गर्दै मतदातालाई प्रश्न सोध्न र आफ्नो दल रोज्न आग्रह गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले झापा–५ मा मंगलबार आयोजित ‘पब्लिक डिबेट’ कार्यक्रममा आफ्नो सहभागिताको सन्दर्भ उल्लेख गर्दै एमालेले प्रश्न छलेर राजनीति नगरेको बताएका हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने महत्वपूर्ण अवसर भएकाले उम्मेदवारहरू जनतासामु प्रत्यक्ष उपस्थित हुनुपर्ने धारणा राखेका छन्।

ओलीले उम्मेदवारहरू नागरिकभन्दा टाढा बस्ने, वास्तविक धारणा नखोल्ने र पूर्वतयार सामग्रीमार्फत मतदातालाई प्रभावित पार्ने प्रवृत्ति लोकतान्त्रिक संस्कृतिका लागि उपयुक्त नभएको उल्लेख गरेका छन्। उनका अनुसार चुनावी प्रतिस्पर्धामा पारदर्शिता र प्रत्यक्ष संवाद आवश्यक छ।

उनको अभिव्यक्तिलाई झापा–५ का अर्का उम्मेदवार बालेन्द्र शाह (बालेन) तर्फ संकेतका रूपमा हेरिएको छ। उक्त ‘पब्लिक डिबेट’ कार्यक्रममा बालेन सहभागी नभएको जनाइएको छ भने अन्य उम्मेदवारहरू उपस्थित थिए। ओलीले एमालेमाथि उठ्ने आलोचना र प्रश्नको उत्तर दिँदै आएको दाबी गरेका छन्। उनले कतिपय विषयमा आत्मालोचना गरेर सुधारसमेत गरिएको उल्लेख गर्दै प्रश्न छलेर आफूलाई राम्रो देखाउने अभ्यास नगरेको बताएका छन्।

‘पब्लिक डिबेट’ जस्ता कार्यक्रमले नागरिक र उम्मेदवारबीच प्रत्यक्ष संवादको वातावरण बनाउने भन्दै उनले आयोजक, सहभागी उम्मेदवार र नागरिकलाई धन्यवाद दिएका छन्। साथै, आफू नागरिकसँगै रहने प्रतिबद्धता व्यक्त गर्दै प्रश्न सोध्न र एमाले रोज्न आह्वान गरेका छन्।

चुनावी माहोल तीव्र बन्दै जाँदा सार्वजनिक बहस, सामाजिक सञ्जाल र प्रत्यक्ष कार्यक्रममार्फत दल तथा उम्मेदवारहरू आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। यस्तो अवस्थामा उम्मेदवारहरूको सहभागिता, पारदर्शिता र जनतासँगको प्रत्यक्ष संवादलाई मतदाताले कसरी मूल्यांकन गर्छन् भन्ने विषयले चुनावी परिणाममा प्रभाव पार्ने विश्लेषणसमेत भइरहेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार