Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मधेश प्रदेशमा चुनावी रणमैदान: ‘अब कि बार’को नारामा को बन्ला राजा, कसले जोगाउला अस्तित्व ?

काठमाडौं । यसपटकको निर्वाचनमा मुख्य राजनीतिक दलहरु मधेश केन्द्रित हुन खोजेका छन् । पुराना कांग्रेस, एमालेदेखि नयाँ रास्वपाको 'फोकस' मधेशमा देखिएको छ । अर्कातिर मधेशलाई नै केन्द्र बनाएर राजनीति गर्ने मधेश केन्द्रित दलहरु अस्तित्व कायम राख्ने दाउमा छन् । २०६४ मा मधेश आन्दोलनको जगबाट उदायको जसपा नेपाल, त्यसपछि नयाँ दलकै रुपमा उदाएको जनमत र बाँकी साना दलहरु पनि मधेशमार्फत राष्ट्रिय राजनीतिमा पकड चाहन्छन् । यसपटक राष्ट्रिय दलहरु कांग्रेस र रास्वपाको आक्रामक मधेश अभियानले कतै पकड गुम्ने त होइन भन्ने चिन्ता थपेको छ ।

मधेशमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र मतदाता
मधेशमा २०७८ को जनगणना अनुसार ६१ लाख १४ हजार ६०० जनसंख्या रहेको छ । बागमती प्रदेशपछि दोस्रो ठूलो जनसंख्या भएको प्रदेश हो, यो । कुल ३२ निर्वाचन क्षेत्र रहेको मधेशमा यसपटक ३६ लाख ३६ हजार ४१४ मतदाता रहेका छन् ।

मधेश प्रदेशमा ८ जिल्ला रहेका छन् । प्रत्येक जिल्लामा ४ निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ कुल १ हजार २७ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । ति मध्ये ४ सय ७३ राजनीतिक दलका र ५५४ स्वतन्त्र  उम्मेदवार मैदानमा छन् । फागुन २१ गतेको निर्वाचनबाट ३२ उम्मेदवारले संसद यात्रा तय गर्नेछन् ।

यसपटक रास्वपाले मधेशलाई केन्द्र विन्दू बनाउन मधेशी पृष्ठभूमिका आफ्ना वरिष्ठ नेता बालेन शाहलाई अगाडि सारेको छ । हुन त उनी तराई भूभाग झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मैदानमा उत्रिएका छन् । तर, उनलाई रास्वपाले पार्टीमा भित्र्याएसँगै माघ ५ मा जनकपुरबाट चुनावी अभियानमा अगाडि सार्‍यो । 'अब कि बार, बालेन सरकार'को नारा दिएर उनलाई भावि प्रधानमन्त्रीकारुपमा बढाएर मधेश मत तान्ने प्रयास गरेको छ । उनले मधेशका धेरै निर्वाचन क्षेत्र पुगेर 'रोड शो' गरेर जनमत तान्ने अभियान थाले । यसपटक मधेशमा घन्टी चर्चामा रहेको छ ।

कांग्रेसले पनि मधेश नै चुनावी अभियान मधेश नै रोजेको छ । ५० को दशकसम्म कांग्रेसको राम्रो पकड बनेको मधेशमा पुन: आफ्नो वर्चश्व कायम गर्ने दाउमा कांग्रेस छ । त्यसै पार्टी सभापति गगन थापा आफैं सर्लाही क्षेत्र नं. ४ मा उम्मेदवार बनेका छन् । विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका थापा काठमाडौं-४ जस्तो सुरक्षित ठाउँ छाडेर सर्लाही झरे । उनले मधेशका धेरै क्षेत्रमा घरदैलो गरिसकेका छन् । कांग्रेसले पनि मधेश मत तान्न 'अब कि बार गगन सरकार' र 'अब कि बार सौ पार'को नारा दिएको छ ।

एमालेले खासै मधेश अभियान नचलाएपनि आफ्ना मत कायम राख्ने प्रयास गरेको छ । मधेश प्रदेशसभामा एमाले २५ सीट सहित पहिलो दल हो । त्यसैले यो मत कायम राखेर आगामी निर्वाचन आफ्नो वर्चश्व कायम गर्ने योजना एमालेको छ । तर, ओली र उनी निकट नेताहरुको असहिष्णु वक्तव्यवाजीका कारण धक्का पुग्ने विश्लेषण पनि छ । हालैको सचिव महेश बस्नेतको अभिव्यक्तिले मधेशमा एमाले उम्मेदवारलाई जवाफ दिनै हैरानी भएको थियो । तर, बस्नेतले पछि माफी मागेका थिए ।

नेकपाले पनि आफ्ना ठूला नेता नारायणकाजी श्रेष्ठलाई सर्लाही- ३ मा उतारेर मधेशको मत तान्ने प्रयास गरेको छ भने सह-संयोजक माधवकुमार नेपाल रौतहट-१ मा पुन: उम्मेदवार बनेका छन् ।

मधेश केन्द्रित दलहरु
विगतमा मधेसको वास्तविक र परिवर्तनकारी शक्ति आफूहरू नै भएको दाबी गर्ने मधेसकेन्द्रित दलहरूलाई जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिले रक्षात्मक अवस्थामा पुर्‍याइदिएको छ । एकातिर यी दलहरूको चुनावी गतिविधि सशक्त देखिँदैन भने अर्कातिर उनीहरूको एजेन्डा पनि छैन ।

फुट, सत्तामुखी चरित्रका कारण मधेसको जनाधार खस्किएर खिइँदै गएका मधेसकेन्द्रित दलहरूलाई बहुआयामिक असरले चुनावमा असुरक्षित अवस्थामा पुर्‍याएको छ। मधेसको मुद्दालाई सत्तामा जाने सिँढी मात्र बनाएका मधेसकेन्द्रित दलहरूको नेतृत्वप्रति मधेसका जनतामा रहेको अविश्वास जेन-जी आन्दोलनपछि वितृष्णामा बदलिएको मधेस मामिलाका जानकारहरु बताउँछन् ।

अहिले विभिन्न कित्तामा रहेका जसपा नेपाल, जनमत पार्टी र जनमतबाट फुटेर बनेको स्वाभिमान पार्टी लगायत साना दलहरु मैदानमा छन् । यसपटक जसपा नेपाल र लोसपाबीच एकता पनि भएको छ । तर, नाता र नजिककालाई मात्र मौका दिने आरोप यी दलहरुलाई लाग्ने गरेको छ । मधेशमा दल-बदल पनि खुबै चल्ने गरेको छ । अब परिणाम कस्तो आउँछ, फागुन २१ पर्खिनै पर्छ । ०००

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार