Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

१२ वर्षपछि विश्वकपमा नेपालको ऐतिहासिक जित ! दीपेन्द्रको अर्धशतकले स्कटल्यान्ड स्तब्ध

मुम्बई। दीपेन्द्र सिंह ऐरीको आक्रामक अर्धशतकको मद्दतमा नेपालले आईसीसी टी–२० विश्वकप २०२६ को समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपालले १२ वर्षपछि टी–२० विश्वकपमा विजय स्वाद चाख्न सफल भयो।
वानखेडे मैदानमा १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएपछि नेपालले त्यसयता विश्वकपमा जित निकाल्न सकेको थिएन। यसपटक सुपर–एट पुग्ने लक्ष्य राखे पनि इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको थियो। तर अन्तिम खेलमा सान्त्वना जित निकाल्दै टोलीले प्रतियोगिताको सुखद समापन गर्‍यो।
कुशल–आसिफको बलियो सुरुवात
ओपनर कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ५६ रनको साझेदारी गर्दै नेपाललाई मजबुत आधार दिलाए। पहिलो विकेटका लागि दुबैले ९.१ ओभरमा ७४ रन जोडे। भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफले २७ बलमा ३३ रन जोडे।
९८–३ को अवस्थाबाट उपकप्तान दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले इनिङ्स सम्हाले। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। जारी प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो। गुल्सन झाले अविजित २४ रन बनाए। स्कटल्यान्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।

स्कटल्यान्डको चुनौतीपूर्ण लक्ष्य
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। ओपनर माइकल जोन्सले ७१ रन बनाउँदै इनिङ्सको आधार तयार पारे। जर्ज मुन्से (२७) र ब्राण्डन म्याकमुलेन (२५) ले सहयोग गरे।
पहिलो विकेटका लागि जोन्स र मुन्सेले ८० रनको साझेदारी गरे। तर त्यसपछि नेपाली बलरले खेलमा पकड जमाए। विशेषगरी डेथ ओभरमा नेपाल प्रभावशाली देखियो।
डेथ ओभरमा नेपालको उत्कृष्ट प्रदर्शन
अन्तिम पाँच ओभरमा नेपालले ६ विकेट लिँदै मात्र ३९ रन खर्चियो। सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। उनले एकै ओभरमा जोन्स र म्याकमुलेनलाई आउट गर्दै खेल मोडिदिएका थिए। नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट लिए।
डेथ ओभरमा देखिएको अनुशासित बलिङकै कारण स्कटल्यान्ड ठूलो स्कोरतर्फ उन्मुख हुन सकेन। त्यसैको फाइदा उठाउँदै नेपालले लक्ष्य सफलतापूर्वक पछ्यायो र विश्वकपमा लामो समयपछि महत्वपूर्ण जित दर्ता गर्‍यो । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार