NL न्यूज
मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले पहिले जितेर बलिङ रोजेको थियो।
स्कटल्यान्डको ब्याटिङ
स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो। ओपनर माइकल जोन्सले ७१ रनको अर्धशतक बनाउँदै टोलीलाई राम्रो सुरुवात दिलाए। जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे। पहिलो १० ओभरमा स्कटल्यान्डले १ विकेट गुमाएर ८० रन बनाएको थियो, तर दोस्रो १० ओभरमा ६ विकेट गुमाएर ९० रन थप्यो।
माइकल जोन्स र जर्ज मुन्सेको ओपनिङ साझेदारीले पहिलो विकेटका लागि ८० रनको ठोस सुरुवात दिलाएको थियो। दोस्रो विकेटका लागि जोन्सले ब्राण्डन म्याकमुलेनसँग ५२ रनको साझेदारी गरे।
नेपाली बलिङको प्रभाव
नेपालका बलरहरूले खेलमा पछि दबाब सिर्जना गरेका थिए। कप्तान रोहित पौडेलले आफैं बलिङ गर्दै ब्रेकथ्रू दिलाए। आठौँ ओभरमा आएका रोहितले ६ रन मात्र दिए र दसौँ ओभरको अन्तिम बलमा जर्ज मुन्सेलाई सन्दिप जोराबाट क्याच आउट गराए।
सोमपाल कामीको डबल विकेट ओभर
१६औं ओभरमा सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिए। उनले माइकल जोन्सलाई बोल्ड र ब्राण्डन म्याकमुलेनलाई कट एण्ड बोल्ड गरेर आउट गरे। यससँगै सोमपाल टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ९ विकेटसहित शीर्ष स्थानमा पुगे।
डेथ ओभरमा उत्कृष्ट प्रदर्शन
नेपालले अन्तिम पाँच ओभरमा लगातार विकेट लिएर स्कटल्यान्डलाई दबाबमा राख्यो। १७औं ओभरमा कुशल भुर्तेलले कप्तान रिची बेरिङटनलाई सन्दिप जोराबाट क्याच आउट गराए। १८औं ओभरमा नन्दन यादवले म्याथ्यु क्रसलाई बोल्ड गरे भने १९औं ओभरमा सोमपालले टम ब्रुसलाई बोल्ड गरे। २०औं ओभरमा नन्दनले माइकल लिस्कलाई आउट गरे।
बलिङमा सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १–१ विकेट लिए।
नेपालका लागि चुनौती
सुरुवाती तीन खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठा जोगाउने अन्तिम अवसर हो। टोली कम्तीमा आजको खेल जित्दै समर्थकका लागि खुशी दिने लक्ष्यमा छ।





प्रतिक्रिया दिनुहोस्