Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

खोकना विवाद थाती राख्दै द्रुतमार्ग वैकल्पिक मार्गबाट अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं तराई मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनामा देखिएको विवाद तत्कालका लागि थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा र स्थानीय आस्थामा असर पर्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै समाधान निस्कन ढिलाइ भए विकल्प रोज्नुपर्ने धारणा राखिन्।

यसअघि माघ १३ गते द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी कार्कीले राष्ट्रिय गौरवको आयोजना अनिश्चितकालसम्म अल्झिरहन नहुने स्पष्ट पारेकी थिइन्। “विकास निर्माणमा अनावश्यक ढिलासुस्ती गर्नु हुँदैन। सकेसम्म विवाद समाधान गर्ने हो, तर समाधान निस्कन ढिला भए विकल्प खोजेर अघि बढ्नुपर्छ,” उनले भनिन्।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईं, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देलसहित सम्बन्धित निकायका उच्च अधिकारी सहभागी थिए। यस क्रममा नेपाली सेनाले आयोजनाको प्रगति, देखिएका समस्या र अपेक्षाबारे ब्रिफिङ गरेको थियो।

प्रधानमन्त्रीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरी सुरु विन्दु परिवर्तन गर्न सकिने स्पष्ट संकेत दिएकी छन्। निर्देशनअनुसार खोकनाभन्दा करिब ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा निर्माण गर्ने गरी डीपीआर परिमार्जन गरिने भएको छ।

ठूलो लगानीको आयोजना लामो समयसम्म लम्बिँदा आर्थिक बोझ बढ्ने भएकाले जहाँसम्म काम सम्पन्न हुन्छ, त्यहीँबाट सञ्चालन गर्ने विकल्पसमेत खुला राख्न उनले सम्बन्धित निकायलाई आग्रह गरेकी छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार