Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

‘भदौ २३ राज्यको कमजोरी, २४ सङ्गठित षड्यन्त्र’ : योगेश भट्टराई

काठमाडौं — नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भदौ २३ र २४ गते भएका घटनामा राज्यको असावधानी स्पष्ट देखिएको स्वीकार गरेका छन्। भिडिओ सन्देशमार्फत उनले नवयुवाहरूको निर्मम हत्यामा कमजोरी भएको बताउँदै त्यसप्रति आत्मालोचना आवश्यक रहेको धारणा राखे।

उनका अनुसार २३ गतेको घटनामा राज्यको कमजोरी देखिएको भए पनि २४ गतेको अवस्था फरक प्रकृतिको थियो। “२३ गते राज्यको कमजोरी थियो भने २४ गते राज्यविरुद्धको सङ्गठित अपराध र षड्यन्त्र देखियो,” उनले भने। ती दुई दिनलाई एउटै ढङ्गले विश्लेषण गर्नु उपयुक्त नहुने उनको तर्क छ।

भट्टराईले जेनजी आन्दोलनका बेला गृह मन्त्रालय नेपाली कांग्रेसको नेतृत्वमा रहेकाले कमीकमजोरीको जिम्मेवारी एक्लै एमालेमाथि नआउने बताए। निर्वाचन नजिकिँदै गर्दा जेनजी युवासँग उत्पन्न अन्तर्विरोध लामो समयसम्म कायम राख्न नहुने भन्दै संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा उनले जोड दिए।

घटनामा घाइते भएकाहरूको जीविकोपार्जनका लागि रोजगारी व्यवस्थामा सकारात्मक पहल गर्ने उनले प्रतिबद्धता जनाए। साथै, सुशीला कार्की नेतृत्वको सरकारले छानबिनका लागि आयोग गठन गरिसकेको उल्लेख गर्दै त्यसको प्रतिवेदन कुर्नुपर्ने धारणा राखे।

कतिपय माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक हुनसक्ने संकेत गर्दै उनले हिंसात्मक गतिविधि, तोडफोड र आगजनीलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे। “२३ गतेको कमजोरी बिर्सनु हुँदैन, २४ गतेको हिंसात्मक गतिविधि पनि क्षम्य छैन,” उनले भने।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार