Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आईसीसी टी २० विश्वकपको अन्तिम खेलमा नेपालको सान्त्वना खोज

काठमाडौं । समूह ‘सी’ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे वनखेडे रंगशालामा हुनेछ।

तीन खेल खेलेर अंकविहीन बनेको नेपालका लागि यो खेल प्रतिष्ठा जोगाउने अवसर मात्र हो। स्कटल्यान्डले दुई अंक जोडिसकेको छ। यस समूहबाट वेस्ट इण्डिज र इंग्ल्याण्ड सुपर आठमा पुगिसकेका छन्। इटाली र स्कटल्यान्डले समान दुई–दुई अंक जोडे पनि रनरेटमा पछि परेका कारण बाहिरिएका छन्।

तीन खेल, तीन फरक कथा
इंग्ल्यान्डसँग चार रनको पीडा

पहिलो खेलमै नेपालले सशक्त चुनौती दियो। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै नेपाल १८० रनमै रोकियो। अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक खेलमा चार रनले हार व्यहोर्नुपर्‍यो।

इटालीसँग निराशाजनक प्रदर्शन
दोस्रो खेलमा ब्याटिङ कमजोर रह्यो। १२३ रनमा सीमित नेपाललाई इटालीले बिना विकेट क्षति लक्ष्य भेट्टाएर १० विकेटले पराजित गर्‍यो।

वेस्ट इन्डिजविरुद्ध एकतर्फी हार
तेस्रो खेलमा १३३ रन मात्र बनाउन सकेको नेपाललाई वेस्ट इन्डिजले १५.२ ओभरमै ९ विकेटले हरायो।

विश्वकपमा नेपालको यात्रा
नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकप खेलेको थियो। दोस्रोपटक विश्वकप खेल्न उसले दशक कुर्नुपर्‍यो। २०२४ संस्करणमा दक्षिण अफ्रिकाविरुद्ध एक रनको झिनो हारसहित प्रतिस्पर्धात्मक खेल देखाएर नेपालले विश्व क्रिकेटमा ध्यान खिचेको थियो। लगातार दोस्रो पटक रोहित पौडेलको कप्तानीमा विश्वकप खेलेको नेपाल समूह चरण पार गर्न भने अझै असफल छ। तीव्र गतिका बलर सोमपाल कामी तीन विश्वकप खेल्ने एक्ला नेपाली खेलाडी बनेका छन्।

समूह ‘सी’को समीकरण
समूहमा दुईपटकको विश्व विजेता वेस्ट इन्डिज र एकपटकको विजेता इंग्ल्यान्ड शीर्ष दुई स्थानमा रहे। बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसी वरियताका आधारमा स्कटल्यान्डले अवसर पाएको थियो। अब नेपालको लक्ष्य स्पष्ट छ । अंकतालिकामा शून्य तोड्दै सम्मानजनक बिदाइ। जितले अर्को चरणको ढोका नखोले पनि भविष्यका लागि आत्मविश्वासको आधार भने अवश्य तयार गर्नेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार